मेयर कप क्रिकेटः वडा नम्बर २, ६ र ९ विजयी

भैरहवा ।सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा जारी नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगितामा बिहीबार तीन खेल सम्पन्न भएका छन् । बिहीबारको खेलमा वडा नम्बर दुई ९ विकेट र वडा नम्बर नौ ५ विकेटले विजयी भएको छ । यस्तै, वडा नम्बर ६ भने ६६ रनले विजयी भएको छ ।

यहाँस्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको वडा नम्बर ६ ले ७ विकेटको क्षतिमा १ सय २१ रनको उच्च योगफल बनायो । निर्धारित १२ ओभरको उक्त खेलमा उसका लागि सुरज गुरुङले नटआउट २९, अकब अलीलले २६ र इलखाव वारिसले १९ रन बनाए । बलिङमा वडा नम्बर १२ का भीम सुनारले ३, राजन चौधरीले २ र अमित यादवले १ विकेट लिए । जवाफी ब्याटिङ गरेको वडा नम्बर १२ भने ११ ओभरमा अलआउट हुँदै ५५ रनमै समेटियो । उसका लागि कृतेष श्रेष्ठले १३ र निर्दोष कार्कीले १२ रन बनाए । बलिङमा वडा नम्बर ६ का प्रवेश आलम, इकलाख वारिसले २–२ तथा सलिम अली र सुरज गुरुङले १–१ विकेट हात पारे । खेलमा सुरज गुरुङ म्यान अफ द म्याच भए ।

यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको वडा नम्बर १३ ले निर्धारित खेलमा ४ विकेटको क्षतिमा १ सय ८ रन बनायो । उसका लागि सिद्धान्त अधिकारीले नटआउट ४१, महेश ज्ञवालीले ३१ र गोविन्द कामीले १७ रन जोडे । बलिङमा वडा नम्बर ९ का बलबहादुर ठकुरीले २ र रहमान अलीले १ विकेट लिए । प्रतिउत्तरमा वडा नम्बर ९ ले १०.५ ओभर खेल्दै ५ विकेटको नोक्सानीमा १ सय ९ रन बनाउँदै जित निकाल्यो । उसको जितमा मेहबुब आलमले सर्वाधिक २७ रन बनाउँदा बलबहादुर ठकुरीले २५ तथा रहमान अली र सुमित जैसवालले १५–१५ रनको योगदान दिए । बलिङमा वडा नम्बर १३ का सुदीप कोइरालाले ३, गोविन्द साहनी र कमल तुलाचनले समान १–१ विकेट लिए । बलबहादुर ठकुरी म्यान अफ द म्याच घोषित भए ।

यस्तै, बिहीबार नै भएको तेस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको वडा नम्बर ५ ले निर्धारित १२ ओभरको खेलमा ७ विकेटको क्षतिमा ६१ रन जोड्यो । जसमा सिजन मकाजुले ३० र अप्रित अग्रवालले १७ रन बनाए । बलिङमा वडा नम्बर २ का युगल थापा र राहुल थापाले समान ३–३ विकेट लिए । जवाफमा झिनो लक्ष्य पाएको वडा नम्बर २ ले ६.१ ओभरमा १ विकेटको क्षतिमा ६३ रन बनाउँदै जित निकाल्न सफल भयो । उसका लागि सन्देश शाक्यले २९ र विजय प्रजापतिले नटआउट २३ रन बनाई टिमलाई जित दिलाए । बलिङमा वडा नम्बर ५ का रोहित मल्लले १ विकेट लिए । युगल थापा म्यान अफ द म्याच भए ।

प्रतियोगितामा विजेता टिमलाई नगद ५१ हजारसहित कप, मेडल र प्रमाणपत्र र उपविजेतालाई २५ हजार ५ सयसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै, प्रतियोगिताको म्यान अफ द सिरिजले ११ हजारसहित ट्रफी र मेडल, उत्कृष्ट बलर र ब्याट्सम्यानले ५–५ हजारसहित ट्रफी र मेडल तथा प्रत्येक खेलमा १ जना म्यान अफ द म्याचलाई नगद १ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने नगरपालिकाले जनाएको छ । प्रतियोगिताको आकर्षणको रुपमा ह्याट्रिक विकेट र छक्का हान्ने खेलाडीलाई पनि १ हजार १ सय रुपैयाँको दरले पुरस्कृत गरिने छ । चैत्र २५ गतेसम्म चल्ने प्रतियोगितामा नगरपालिकाका १३ वटा वडाका १३ टीम सहभागी छन् ।

 

 
 
  
 

You may also like