काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा आज (मंगलबार) सुनुवाइ नहुने भएको छ ।
उक्त रिट सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको थियो । न्यायाधीश अनिलकुमार सिन्हाले अघिल्लो पटक संवैधानिक इजलासबाट लामिछानेको मुद्दा फैसला हुँदा आफू पनि त्यस इजलासमा रहेको भन्दै हेर्न नमिल्ने बताएपछि आजको सुनुवाइ रोकिएको हो ।
अधिवक्ता युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु पर्ने माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए । उनीविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको भन्दै पौडेलले रिट हालेका हुन् । रवि लामिछाने २०७० फागुन ९ मा अमेरिकी नागरिक भएका थिए । अमेरिकी राहदानी रहेका र अमेरिकी नागरिक हुँदा हुँदै नेपाली राहदानी २०७२ जेठ १३ गते लिएका थिए ।
उक्त प्रकरणमा रविलाई कारबाही गरी पाउन मागसहित सफलले गत माघ १७ मा जाहेरी दिएका थिए । लामिछानेले पनि नेपाली नागरिकता लिएको बयानको क्रममा स्वीकार गरिसकेका थिए । नेपालमा दोहोरो नागरिकताको प्रणाली नभएको र विदेशको नागरिकता प्राप्त गरे पश्चात नेपाली नागरिक कायम नहुने ब्याख्या भएको निवेदनमा उल्लेख थियो ।