रवि लामिछानेमाथि राहदानी मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राहदानी प्रकरणमा मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट पेस गरिएको छ । रिट दर्ता गर्ने / नगर्ने विषयमा सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् ।

आज (आइतबार) अधिवक्ता युवराज पौडेल (सफल) ले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट पेस गरेका हुन् । पौडेलले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए । यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो ।

त्यसअघि प्रहरी, सरकारी वकिल कार्यालयले उनीविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए । प्रहरीले छानबिनपश्चात् लामिछानेले राहदानी लिएको भए पनि त्यसको प्रयोग नगरेको भन्ने मुख्य आधार लिँदै मुद्दा दायर गर्नु नपर्ने राय दिएको थियो । सोही रायलाई महान्यायाधिवक्ता कार्यालयले सदर गरेको थियो ।

 
 
  
 

You may also like