नगरको विकासका लागि अर्थमन्त्री र सिद्धार्थनगरका मेयर बीच भेटवार्ता

भैरहवा।नेपाल सरकार अर्थमन्त्री प्रकाशशरण महत र रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान बीच काठमाण्डौँमा ‘वान टू वान’ भेटवार्ता भएको छ ।

सिद्धार्थनगरको विकासका लागि अर्थमन्त्री महत र प्रमुख खानबीच ‘वान टू वान’ भेटवार्ता भएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

नगरको विकासका लागि नगर क्षेत्रमा ठूला परियोजनाहरु संचालन गर्नका लागि अर्थमन्त्री र नगर प्रमुख बीच छलफल भएको छ’ नगर प्रमुखका स्वकीय सचिव बरकत बादशाह शेषले भने, ‘जसमा अर्थमन्त्री सकारात्मक हुनुहुन्छ ।’

‘वान टू वान’ भेटवार्तामा प्रमुख खानले अगामी आर्थिक वर्षमा सिद्धार्थनगर नगरपालिकाको बजेट थप वृद्धि गर्न गरेको आग्रहमा पनि अर्थमन्त्री सकारात्मक रहेको र अगामी आर्थिक वर्षमा बजेट वृद्धि हुनमा आफुहरु आशावादी रहेको उनले बताए ।

नगरको विकासका लागि नगर प्रमुखको नेतृत्वमा नगरपालिकाको टोली आइतबार काठमाण्डौँ प्रस्थान गरेको छ ।

यसैक्रममा अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा, शहरी विकास मन्त्रालय समन्वय महाशाखा, वित्तिय संघियता समन्वय महाशाखा र शहरी विकास मन्त्रालयका अधिकारीहरुसगँ समेत भेटवार्ता गरेर विकासका लागि विभिन्न विषयमा छलफल भएको र नगरको विकासका लागि सबै सकारात्मक रहेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।

नगरको विकासका लागि नगरपालिकामा एशियाली विकास बैंक (एडिबी) को अर्बन रेजिलेन्स एण्ड लिभ्लीहुड इम्प्रुभ परियोजना (यू.आर.एल.आई.पी) संचालनको प्रक्रियामा छ । परियोजना छिटै संचालनको लागि पनि पहल गरिरहेको उनले बताए ।

उनले अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्री कृष्ण नेपालले नगरको विकासका लागि आफु सकारात्मक रहेको र एडिबीको परियोजना संचालनको सुरुवाती चरणमा आफु नगरपालिकामा आउने जानकारी गराएको बताए ।

यस परियोजना अन्र्तगत नगरपालिकामा भौतिक पूर्वाधारको निर्माण र पर्यटन क्षेत्रमा डण्डा करिडोरको विकासका लागि प्रक्रिया अघि बढेको सिद्धार्थनगर नगरपालिकाका ईन्जिनियर साकार श्रेष्ठले जानकारी दिए ।

‘नगरको विकासका लागि विभिन्न स्थानमा छलफल–बैठक गरिरहेका छौँ’ नगर प्रमुख खानले भने, ‘जहाँ जहाँ छलफल–बैठक गरेका छौँ, त्यहाँ सबै सकारात्मक हुनुहुन्छ, आगामी दिनमा नगरमा विकासका ठूला परियोजनाहरु संचालन हुनेमा आशावादी छौँ ।’

नगरको विकासका लागि आफुहरुले विभिन्न निकायहरुमा पहल थालेको र क्रमशः विकास योजनाहरु संचालन हुने उनले बताए । उनले विकासका ठूला परियोजना संचालनका लागि प्रक्रियागत अघि बढ्नुपर्ने हुदाँ केही समय लाग्ने गरेको बताए ।

 
 
  
 

You may also like