चन्द्रकोट गाउँपालिकाद्वारा क्रिकेटर सोमपाल कामीलाई सम्मान गर्ने

गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा जन्मिनुभएका क्रिकेटर सोमपाल कामीलाई सम्मान गरिने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई गृह पालिकाले सम्मान गर्न लागेको हो । बिं.सं २०५२ साल माघ १९ गते चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ८ झुर्ममा जन्मिएका सोमपाल कामी नेपाली क्रिकेट खेलाडी हुनुुहुन्छ । उहाँ दायाँ हाते ब्याट्सम्यान तथा दायाँ हाते मध्यम–तिब्र गतिका बलर हुनुहुन्छ । सोमपाल कामी सन् २०१३ देखि नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य भई खेल्दै आउनुभएको छ ।
आगामी वर्ष जिम्बाबेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको ‘क्वालिफायर’ मा नेपाललाई पु¥याउन सफल भएको भन्दै गाउँपालिकाले नगद ५० हजार रुपैयाँ सहित सम्मान गर्न लागिएको गाउँपालिका अध्यक्ष युवराज केसीले बताउनुभयो ।

क्रिकेट खेलाडी कामी चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ८ झुर्ममा जन्मिनुभएको हो । उहाँको परिवार हाल भारतमा बसोबास गदै आईरहे पनि अहिलेसम्म बसाइँसराइँ नलिएको वडा नम्बर ८ का वडाध्यक्ष फणिन्द्रराज अर्यालले बताउनुभयो ।

आइसिसी लिग–२ अन्तर्गत भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी गुल्मी जिल्ला र चन्द्रकोट गाउँपालिकाको गौरव बढाएको भन्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई हौसला बढाउन सम्मान गर्न लागिएको चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसालले बताउनुभयो । गाउँपालिकाले घोषणा गरेको पुरस्कार राशी समयानुकूल मिलाएर भौतिक उपस्थितिमा कार्यक्रम गरी हस्तान्तरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिनुभयो ।

अहिले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामी प्रशिक्षणमा रहेकाले समय नमिलेको बताउनुभयो । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ बनाएको अवस्थामा पानी परेर खेल रोकिएपछि ‘डकवर्थ लुइस’ नियमका आधारमा नेपाल विजयी भएको हो ।

नेपाल ९ रनले विजयी भएको थियो । जितसँगै नेपालले एकदिवसीय विश्व कप क्रिकेटको सिधै क्वालिफायर खेल्ने पक्का भएको हो । नेपालले जिम्बाब्वेमा हुने क्वालिफायरमा दक्षिण अफ्रिका, श्रीलङ्का, लगायतका टेष्ट मान्यता प्राप्त देशसँग खेल्ने सम्भावना छ ।

त्यस्तै, यु–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पु¥याउन सफल भएका छत्रकोट गाउँपालिका ५ मानकोटका अर्जुन कुमाललाई पनि गाउँपालिकाले सम्मान गरेको छ । हालै युएईमा सम्पन्न यु–१९ एसिया छनोट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई विजयी बनाएका उहाँलाई गाउँपालिकाले नगद ५० हजार सहित सम्मान पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेको हो ।

उहाँले कुबेत विरुद्ध सतक समेत प्रहार गर्नुभएको थियो । क्रिकेट खेल मार्फत गुल्मी जिल्ला र छत्रकोट गाउँपालिकालाई विश्वसामु चिनाउन सफल भएको भन्दै गाउँपालिकाले नगद सहित सम्मान गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।

 
 
  
 

You may also like