प्रधानमन्त्री प्रचण्डले भोलि दिउँसो १ बजे विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि (सोमबार) दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले भोलि दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम तय भएको जानकारी गराएका हुन् ।

पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले सोही महिनाको २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको नेकपा एमाले सरकारलाई दिएको समर्थनसहित सरकारबाट बाहिरिएपछि प्रचण्ड पुनःविश्वासको मत लिन लागेका हुन् ।

१० दलीय गठबन्धनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने समझदारी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको गठबन्धनको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने समझदारी गरेको हो । १० दलीय गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टी छन् ।

 
 
  
 

You may also like