स्वास्थ्य संस्थाका अगुवाहरुसँग छलफल

बुटवल। बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न शनिबार बुटवलभित्रका अस्पताल तथा स्वास्थ्य संस्थाका अगुवाहरुसँग छलफल गरेको छ ।

छलफल कार्यक्रमका बोल्दै सहभागीहरुले स्वास्थ्य संस्थाहरुबाट उत्पादन हुने फोहोर व्यवस्थापनमा उपमहानगरपालिकाले अगुवाई गर्न सुझाव दिएका छन् ।
स्वास्थ्य संस्थाका अध्यक्ष तथा कार्यकारी निर्देशकहरुले बुटवललाई स्वास्थ्यमा अगुवा सहर बनाउनका लागि विशिष्ट र आधुनिक सुविधासम्पन्न अस्पताल बनाउनुपर्ने र त्यसका लागि उपमहानगरपालिकाले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
सरकारी नीति निर्माणमा संघीय सरकारले निजी क्षेत्रलाई नियन्त्रणमुखी नीति बनाउन प्रयास गरेकोले खुला नीति अवलम्बन गर्न उनीहरुले सुझाव दिए । स्तरीय स्वास्थ्य सुविधा प्रदानका लागि सरकारी नीतिले साथ दिएमा सरकारी र निजी क्षेत्रको समन्वयमा विशिष्टीकृत सुविधा घरघरमा पुर्‍याउन तयार रहेको उनीहरुले बताएका छन् ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा अग्रणी सहर बनाउनका लागि निजी क्षेत्रले समेत स्तरीय सेवासुविधा प्रदान गर्नुपर्ने बताउनुभयो ।

उहाँले संख्यात्मक भन्दा बढी गुणात्मक हिसाबले अस्पतालहरु स्थापना तथा सञ्चालन गर्नुपर्ने बताउँदै सहजीकरण तथा समन्वयका लागि बुटवल उपमहानगरपालिका तयार रहेको बताउनुभयो । उहाँले नीतिगत हिसाबले बुटवल उपमहानगरपालिकाले संघ र प्रदेशसँग समन्वय गरी बुटवललाई स्वास्थ्य क्षेत्रमा सुविधासम्पन्न बनाउनका लागि अगुवाई गर्ने बताउनुभयो ।

उहाँले चितवन स्वास्थ्यकै कारण अगाडि बढिरहेको भन्दै बुटवललाई शिक्षा र स्वास्थ्यमा अगुवा बनाउनका लागि निजी क्षेत्रको समेत चासो र लगानी बढ्नुपर्ने बताउनुभयो । बुटवलमा स्वास्थ्य क्षेत्रमा लगानी भएपनि पर्याप्त र अत्याधुनिक सुविधा प्रदान गर्नका लागि थप लगानी आवश्यक देखिएको बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाले बुटवललाई देशकै अगुवा शहर बनाउनका लागि योजना निर्माण गर्दै सेवाप्रवाहलगायतका विषयमा विज्ञहरुको रायसुझाव लिने अभियानको थालनी गरेको हो ।

सोमबारदेखि आगामी चैत ८ गते बुधबारसम्म नियमित रुपमा सञ्चालन हुने क्षेत्रगत सुझाव संकलन तथा समन्वयसम्बन्धि कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताउनुभयो ।

चैत ५ गते संस्थागत विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, सामुदायिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरु, ६ गते टोलविकास संस्थाका अध्यक्षहरुसँग छलफल गर्ने कार्यक्रम रहेको सामाजिक विकास महाशाखा प्रमुख तथा सूचना अधिकारी तुलसा अर्यालले बताउनुभयो ।

यस्तै, चैत ७ गते खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष, लायन्स, लियो, लायनेस, जेसिजलगायतका गैरसरकारी संस्थाहरुसँग र ८ गते सरकारी तथा निजी क्याम्पसका अध्यक्ष र क्याम्पस प्रमुखहरुसँग छलफल गर्ने कार्यक्रम रहेको नगरप्रवक्ता शिव रानाले जानकारी दिनुभयो ।

सार्वजनिक सरोकार राख्ने संघसंस्था तथा सरोकारवालाहरुसँग छलफल गरेपछि जनताका समस्या बुझ्ने गरी जनस्तरसम्म पुग्ने र सुझाव लिने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

 
 
  
 

You may also like