मोक्षधाम बिराट महायज्ञ माघमा , अध्यक्ष पाठकको संयोजकत्वमा समिति गठन

तिलोत्तमा । तिलोत्तमा नगरपालिका वडा नं. ६ पश्चिम पहुनीमा रहेको मोक्षधाम सेवा आश्रममा आठ धाम सहितको मोक्षधाम निर्माणकालागि माघमा ‘श्रीमद् भागवत धानधान्याञ्चल तुलादान बिराट महायज्ञ’ मोक्षधाम महाकुम्भ गरिने भएको छ ।

मोक्षधाम महाकुम्भ गर्नका लागि आज आयोजित भेलाले आश्रमका अध्यक्ष रोमणीप्रसाद पाठकको संयोजकत्वमा १ हजार १सय १ सदस्यीय मुल आयोजक समिति गठन गरेको छ । त्यस्तै भेलाले २२ वटा विषयगत उपसमिति गठन गरेको आश्रमका सचिव कृष्ण पाण्डेले जानकारी गराउनु भयो ।
एक महिने मोक्षधाम महाकुम्भ माघमा गर्ने निर्णय भएपनि मिति भने निर्धारण गरिएको छैन । उपयुक्त समय हेरेर मात्रै मोक्षधाम महाकुम्भको मिति तय गरिने धाममा अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक पाठकले बताउनु भयो ।

भेलामा तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरेले मोक्षधाम नगरकै धार्मिक धरोहरको रुपमा बिकास हुँदै गरेको र यसको बिकासले नगरको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने भएकाले धामले लिएका बिकास योजनामा नगरपालिका संगै रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा आश्रमका संरक्षक ईश्वर कृष्ण शास्त्री, वैदिक धर्म परिषदका केन्द्रीय अध्यक्ष लोकनाथ खराल, हिन्दु धर्म संरक्षण समितिका केन्द्रीय अध्यक्ष आनन्दकुमार गुप्ता, स्थानीय आमा समुहकी अध्यक्ष दुर्गादेवी खड्का, आश्रमका उपाध्यक्ष टिकाराम पाण्डे लगायतले आश्रममा निर्माण गर्न लागिएको आठ धाम सहितको माक्षधाम निर्माणले तिलोत्तमाको मात्रै नभएर समग्र रुपन्देही जिल्लाकै धार्मिक पर्यटन प्रवद्धनमा टेवा पुग्ने भएकाले मोक्षधाम महाकुम्भ सफल बनाउनकालागि सबै एक भएर लाग्नु पर्ने भनाई राख्नुभएको थियो ।

मोक्षधाम सेवा आश्रमले आठ धाम सहितको मोक्षधाम निर्माणकालागि बनाएको गुरुयोजना अनुसार २०६८ साल यता हालसम्म राधाकृष्ण मन्दिर, विश्वनाथ मन्दिर, हवन कुण्ड, अमृत कुण्ड, मुक्तिनाथ मन्दिर, जेष्ठ नागरिक मिलन केन्द्र, बाल आश्रम, सन्त आश्रम, माक्षधाम सभाहल लगायतका भौतिक पूर्वाधार निर्माण गरिसकिएको मोक्षधाम सेवा आश्रमका कोषाध्यक्ष तथा धानधान्याञ्चल उपसमितिका संयोजक नारायण वञ्जाडेले बताउनु भयो ।
नेपालका प्रशिद्ध पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी र जनकपुर तथा भारतका बद्रिनाथ, रामेश्वर, द्वारिकाधिस, जगन्नाथपुरी धाम गरि आठ धामलाई एकैठाउँ बनाउनकालागि १०८ फिट अग्लो र ७२ फिट चौडाईको मोक्षधामको मुल मन्दिर निर्माणकालागि यो एक महिने ‘श्रीमद् भागवत धानधान्याञ्चल तुलादान बिराट महायज्ञ’ मोक्षधाम महाकुम्भ २०७६ गर्न लागिएको उहाँले बताउनु भयो । उक्त मन्दिर निर्माणकालागि करिव ४० करोड रुपैंयाँ लाग्ने अनुमान गरिएको छ ।

 
 
  
 

You may also like