सत्ता टिकाउन धेरै उपप्रधानमन्त्री बनाउन खोज्नु गलत : केसी

बुटवल। नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले गठबन्धन टिकाउन धेरै उपप्रधानमन्त्री बनाउन नहुने बताएका छन् । केसीले गठबन्धनका नाममा सत्ता टिकाउनकै लागि उपप्रधानमन्त्रीको हुल बनाउने परीपाटी बसालिएको र त्यो गलत भएको टिप्पणी गरे ।

‘संविधानले धेरै कुराको सिमावद्ध गरिदिएको भएपनि जुनढंगले उपप्रधानमन्त्रीको हुल बनाउने गरिएको छ त्यो गलत छ’ प्रतिनिधि सभा सदस्य समेत रहेका नेता केसीले भने ।
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिइने पनि बताएका छन । कांग्रेस कसको नेतृत्वमा सरकारमा जान्छ भन्ने बिषयमा पार्टीमा छलफल नै नभएको भन्दै उनले प्रधानमन्त्रीले विश्वासको मत पाएपछि कांग्रेस सरकारमा सहभागी हुने बताए ।

नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य केसीले गठबन्धन सरकारमा जाँदा साझा प्रतिवद्धताहरू ल्याउनुपर्ने बताए । बेरोजगारी, दण्डहीनता र भ्रष्टाचारले मुलुकको आर्थिक अवस्थालाई कमजोर बनाएको भन्दै उनले त्यसका विरुद्ध सबै एक भएर लड्नुपर्नेमा जोड दिए ।

‘मुलुकको व्यापार घाटा बढिरहेको छ । दातृ निकायको ऋणमा सरकार चलेको छ । बेरोजगारी समस्या बढदो छ । दण्डहीनताले मुलुकलाई थप समस्यामा पारेको छ यस्तो अवस्थामा सरकार, राजनीतिक दल सबै गम्भीर हुनुपर्छ’ पूर्वमन्त्री समेत रहेका केसीले भने ।

बैंक व्याजदर, लघुवित्त जस्ता क्षेत्रमा देखिएका समस्या समाधान गर्दै चालु खर्च घटाउने तर्फ विशेष ध्यान दिनुपर्नेमा उनको जोड छ । नयाँ गठबन्धनबाट न्युनतम साझा कार्यक्रम कस्तो आउला भनेर जनताले पर्खेको भन्दै उनले अर्थतन्त्र सुधारका साझा कार्यक्रम ल्याउनु पर्ने बताए ।

संविधानमा रहेका अस्पष्ट व्यवस्थालाइ परिर्वतन र निर्वाचन पद्धतिमा पनि बहस गर्नु पर्ने अवस्था आएको उनले बताए । राष्ट्रपति र उपराष्ट्रपतिको बिषयमा फरक लिंग वा समुदाय भनेर संविधानमै अस्पष्टता हुँदा दुवै पदमा पुरुष बन्नका लागि बाटो खोलिदिएको बताए ।

त्यस्तै अहिलेको समानुपातिक प्रणालीले जनतासँग सरोकार नभएका र नेतृत्व वरपरका मन्छेले अवसर पाएको उल्लेख गर्दै प्रतिस्पर्धात्मक समानुपातिक व्यवस्था ल्याउन सकिने बताए । राष्ट्रिय सभामा समानुपातिक प्रणाली व्यवस्था गर्न सकिने धारणा राखे ।

 
 
  
 

You may also like