मन्त्री किराँतीको प्रश्न : पशुपति क्षेत्र सफा गर्न नसके देश कहिले सफा गर्छौ ?

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ठूलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकतालाई भत्काउन जरुरी रहेको बताएका छन् ।

आज (शनिबार) देखि सुरु भएको तीन महिने पशुपति सरसफाइ अभियानको उद्घाटन गर्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् । उनले नेपालमा ठूलो मानिसले सानो काम गर्नै हुँदैन भन्ने संस्कृतिको विकास भइरहेको भन्दै यसलाई भत्काएर अघि बढ्नु पर्ने बताए । उनले पशुपति क्षेत्र सफाइका लागि पशुपति क्षेत्र विकास काषले योजना बनाएर बुझाउन निर्देशन दिए । उनले सफा रहनु सभ्यता प्रदर्शन गरेको उल्लेख गर्दै आस्थाको केन्द्र पशुपतिनाथलाई सबै मिलेर सफा राख्नुपर्ने बताए ।

मन्त्री किराँतीले पशुपतिनाथ नै फोहर राख्ने हो भने देश कहिले सफा गर्छौँ भन्दै प्रश्न समेत गरेका छन् । उनले सांस्कृतिक मूल्य र मान्यता हराउँदै गएको भन्दै समाजसँग जोडिएको विकृतिलाई सफा बनाउनु पर्ने बताए । उनले आफू मन्त्री रहेको मन्त्रालय अन्तर्गतका सबै निकायहरुलाई सबै क्षेत्रमा सफा राख्न निर्देशिका बनाएर पठाएकाले त्यस अनुसारको काम नभए कारबाही गर्ने चेतावनी दिए ।

उनले भने, ‘हाम्रोमा ठूलो मान्छेले सानो काम गर्नु हुँदैन भन्ने कल्चर छ, यसलाई भत्काउनु पर्छ । यो सफा कसरी गर्ने पशुपति क्षेत्र विकास कोषले योजना ल्याउनुपर्छ । हाम्रो एक्सन त्यहाँ हुन्छ । हामी तीन महिना प्रत्येक शनिवार ८ बजेदेखि १० बजेसम्म यो अभियान सञ्चालन गर्नेछौँ । सफा रहनु भनेको सभ्यता प्रदर्शन गर्नु हो, संस्कृति निर्माण गर्नु भनेको जीवन प्रदान गर्नु हो ।’

यस अवसरमा मन्त्री किराँतीले आफै कुचो लगाएर र आसपासका क्षेत्रहरुको फोहर टिपेर पशुपति सरसफाइमा सरिक भएका थिए । अबको तीन महिनासम्म हरेक शनिवार ८ बजेदेखि १० बजेसम्म पशुपति सरसफाइ अभियान सञ्चालन हुनेछ ।

 
 
  
 

You may also like