मापदण्ड बिपरित तेल बेचेपछि नयाँगाउँको लम्साल आयल सप्लायर्स शील

बुटवल ।रुपन्देहीका पेट्रोल पम्पहरुमा अनुगमन गरिएको छ । जिल्ला अनुगमन समितिले रुपन्देहीका पेट्रोल पम्पहरुमा अनुगमन गरेको हाे । पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा संचालित ५ वटा पम्पहरुमा आइतबार समितिले अनुगमन गरेको हो । अनुगमनका क्रममा मापदण्डविपरीत तेल विक्री गरेको पाइएपछि बुटवल उपमहानगरपालिका-१२, नयाँगाउँको लम्साल आयल सप्लायर्समा शील गरिएको छ ।

उक्त पम्पले प्रत्येक ५ लिटरमा १५ एमएल कम र ३० एमएलसम्म बढी बिक्री गर्न पाइने नापतौल विभागको मापदण्ड रहे पनि ६५ एमएलसम्म बढी विक्री गरेको पाइएपछि शिल गरिएको गुणस्तर नापतौल कार्यालय, बुटवलका प्रमुख शम्भुकुमार झाले जानकारी दिए ।

‘कसैले पनि घाटा खाएर तेल विक्री गर्दैन । तर लम्साल आयलले उपभोक्तालाई बढी मात्रामा तेल विक्री गरेको पाइयो । अनुगमन समिति आएको थाहा पाएपछि मेसिन मिलाउने क्रममा यस्तो गरेको हुनसक्छ’, उनले भने, ‘यही कारण अनुसन्धानका लागि हामीले पम्प शिल गरेका हौं ।’

उनका अनुसार यसरी पेट्रोलियम पदार्थ कम र बढी गराएर विक्री गर्ने पम्पलाई ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने गुणस्तर तथा नापतौल ऐनमा व्यवस्था छ । ‘यदि कसैले नियतबस पेट्रोलियम पदार्थ विक्री गर्दा घटीबढी गरेर विक्री गरेको प्रमाणित भयो भने ऐनअनुसार ३ देखि ५ लाख रुपैयाँसम्म जरिवाना र ३ वर्ष कैद वा दुबै सजाय गर्न सकिने कानूनी व्यवस्था छ’, हामीले अनसन्धान गर्छौं र आवश्यक कारबाही हुन्छ ।’

जिल्ला अनुगमन समिति संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले अनुगमनका क्रममा ४ वटा पेट्रोल पम्पले मापदण्ड पालना गरेको पाइए पनि लम्साल आयल सप्लार्यमा कैफियत देखिएको जानकारी दिए ।

उनले ३ दिनभित्र संचालक पशुपति लम्साललाई गुणस्तर तथा नापतौल कार्यालय, बुटवलमा उपस्थित हुन अल्टिमेट दिइएको बताए । ‘पम्प शिल गरेर अनुसन्धान सुरु गरिएको छ, नियमतबस संचालकले तेल घटीबढी गरेको पाइए कारबाही हुन्छ’, उनले भने ।

समितिले अनुगमन गर्न आएको जानकारी पछि संचालकले नियतबस नै कम विक्री गरिरहेको मात्रालाई मिलाउँदा बढी विक्री गरेको देखाउने प्रयास भएको निचोड निकालेर पम्प शिल गरेको जनाएको छ ।

‘पाँच लिटरमा ६५ एमएलसम्म बढी तेल उपभोक्तालाई सित्तैमा कसैले दिँदैन, पक्कै पनि अनुगमन समितिलाई छल्न यस्तो गरिएको हुनुपर्छ’, अर्यालले भने, ‘अनुसन्धानको क्रममा केही तथ्य खुल्ला, यदि मेसिन नै विग्रिएको हो भने प्रक्रिया पूरा गरेर मेसिन बनाएपछि पम्प संचालनका लागि अनुमती दिन्छौं ।’

अनुगमनका क्रममा समितिले पम्पहरुले विक्री गरिरहेको तेलको परिणाम, मेसिनको अवस्था लगायत जाँच गरेको थियो । अनुगमन समितिमा जिल्ला प्रशासन, गुणस्तर तथा नापतौल कार्यालयका साथै लुम्बिनी प्रदेशको उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक दामोदर भण्डारी, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी श्यामु अर्याल, घरेलु कार्यालयका प्रतिनिधि, नौपतौलका प्राविधिक लगायतको सहभागिता थियो ।

अनुगमन समितिले बुटवलको लम्साल आयलसँगै जिल्लाको सैनामैनामा रहेको भुसाल डिजल्स, गैरे टायर्स एण्ड ओइल डिस्टिव्युटर्स, लुम्बिनी डिजल सेन्टर र एसके डिजल सेन्टरमा अनुगमन गरेको थियो ।

‘समितिले नियमित अनुगमन गर्दै आएको छ, तर पम्पहरुका बारे उपभोक्ताबाट कम मात्रामा तेल विक्री गरेको गुनासो पनि आएपछि हामीले अनुगमनलाई तिव्रता दिएका छौं’, सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘अब सबै पम्पहरुको अनुगमन हुन्छ, गलत भेटिए कारबाहीको दायरामा ल्याउँछौं ।’

 
 
  
 

You may also like