पोखरा । फेवातालमा डुंगा दुर्घटना हुँदा गम्भीर घाइते भएकी याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको छ ।
आज (शनिबार) दिउँसो एक्कासी हावाहुरी चल्दा गिरीसहित ६ जना सवार तालमा डुबेका थिए ।
अचेत अवस्थामा उद्धार गरिएकी गिरीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवण विकले जानकारी दिए ।
कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकका अनुसार आफै सवार डुंगाले च्यापिएर पोखरा–१ बगरकी ७० वर्षिया याममाया गिरीको मृत्यु भएको हो । आफन्तसँगै ताल घुम्न गएकी गिरीले पनि लाइफ ज्याकेट त लगाएकी थिइन्, तर, उनी आफै सवार डुंगा आफैमाथि घोप्टिएको थियो । उद्धार पछि उपचारका लागि गण्डकी मेडिकल कलेज ल्याइएको थियो । ‘उद्धार हुँदा नै उनी बेहोस भईसकेकी थिइन्, तर पछि मृत्यु भयो,’ विकले भने । गिरी सवार डुंगामा परिवारका पाँच जना सदस्य थिए ।