नेपाल प्रहरी र नेपाली सेनाको क्षेत्रमा पर्खाल निर्माण शुरु

बुटवल । बुटवलको अभियान पथमा नेपाल प्रहरी र नेपाली सेनाको क्षेत्रमा पर्खाल निर्माण शुरु भएको छ ।
अभियान पथ सडक विस्तार तथा बाउण्ड्री वाल निर्माणको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शिलान्यास गर्नुभयो ।

शिलान्यास पछि बोल्दै प्रमुख पाण्डेयले लामो समयदेखि रोकिएको पर्खाल निर्माणको काम शुरु भएको र छिटै नै सडक विस्तारको काम शुरु हुने बताउनुभयो ।
उहाँले सडक विस्तारको कामका लागि डीपीआर भइसकेको र छिटै टेण्डर आह्वान गरी निर्माणको प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

‘यो पर्खाल बनेपछि नेपाली सेना र नेपाल प्रहरीतर्फको क्षेत्र छुट्टिनेछ, त्यसपछि सडक निर्माणले यो क्षेत्रलाई मुख्य सडकको वैकल्पिक सडकका रुपमा स्थापित हुनेछ, उहाँले भन्नुभयो-बुटवलको यो क्षेत्रका लागि यो सडक महत्वपूणर् सडक हुनेछ ।’

मध्यपश्चिम पृतना पृतनापति यमप्रसाद ढकाल, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र समादेशक विनोद घिमिरेले पर्खाल र सडक निर्माणले स्थानीयलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

४ करोड १० लाख ७६ हजारमा ठेक्का भएको पर्खाल निर्माणको काम ३ महिनाभित्र पूरा गर्ने प्रतिबद्धता निर्माण पक्षले जनाएको बुटवल उपमहानगरपालिकाका शहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा वडाध्यक्ष बलबहादुर पुन, वडा सदस्य यमुना काउचाले बोल्दै वडा नम्बर १० का लागि सडक र पर्खालले थप सुन्दरता ल्याउने बताउनुभयो ।

 
 
  
 

You may also like