आईसीसी यू–१९ एसिया विश्वकप छनोट : मलेसियामाथि नेपालको शानदार जित

by समतल अनलाइन

काठमाडौं । आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा नेपालले लगातार चौंथो शानदार जित निकालेको छ । आज (मंगलबार) यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको हो । नेपालले मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरको समाप्तिमा कुनै विकेट नगुमाई पूरा गरेको हो ।

नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाए। दीपकले २९ बलमा ८ चौकासहित ३८ रन बनाएका हुन् भने अर्जुन २५ बलमा ३ चौकाको मद्दतले २१ रन बनाएका थिए । नेपालले मलेसियाबाट अतिरिक्त १४ रन पाएको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३५.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियो । मलेसियाका तीन ब्याटरले बाहेक कसैले पनि दोहोरो अंकमा रन जोड्न सकेनन् । मलेसियाका लागि मोहम्मद मलेकले सर्वाधिक २६ रन बनाए । त्यस्तै मोहम्मद हरिसन र साहिर स्यामेलले १२-१२ रन बनाए ।

नेपालका लागि दिपेश कण्डेलले सर्वाधिक ४ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ४ ओभर मेडन फाल्दै ११ रन मात्र खर्चिएका थिए । त्यस्तै आकाश चन्दले ३, मिलन बोहोराले २ र सुवास भण्डारीले १ विकेट लिए ।

 
 
  
 

You may also like