काठमाडौं । बलात्कारको आरोपित क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नबारे सर्वोच्च अदालतमा आज (आइतबार) सुनुवाइ हुँदैछ ।
‘क्रिकेट खेल्नका लागि विदेश जान पाउँ’ भनी आरोपित लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ गरेपछि सर्वोच्च अदालतको एकल इजलासले आजका लागि पेशी तोक्न आदेश दिएको हो ।
आइतबारको सुनुवाइ उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न गरेको आदेश ठिक थियो कि थिएन भन्नेमा केन्द्रित हुनेछ । सर्वोच्च अदालतले उच्च अदालतको आदेश सदर गरेमा मात्रै ‘आफूलाई विदेश जान अनुमति दिनुपर्ने’ भनी लामिछानेले पेश गरेको निवेदनमा प्रवेश गरी बहस हुनेछ ।
सर्वोच्च अदालतले जिल्ला अदालतको आदेश सदर गरेमा लामिछाने थुनामा बस्नुप र्नेछ भने साधारण तारिखमा छाड्ने आदेश गरेमा उनले विदेश जान अनुमति माग्नुपर्ने छैन । लामिछानेमाथि किशोरी बलात्कारको आरोप छ । उनीविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।
शुक्रबार नै लामिछानेविरुद्ध महान्यायाधिवक्ता कार्यालयले पेश गरेको निवेदन पेशीमा तोकिएपछि ‘हेर्न नभ्याइने’ कारण सुनुवाइ हुन सकेको थिएन । सर्वोच्च अदालतको एकल इजलासले त्यो निवेदनसहित विदेश जान अनुमति मागिएको निवेदनलाई एक साथ पेश गर्न आदेश दिएको थियो ।
आइतबार दुई जना न्यायाधीश रहने संयुक्त इजलासमा दुवै निवेदनमाथि सुनुवाइ हुनेछ ।
उच्च अदालतले पुस २८ गते सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि त्यसविरुद्ध पीडितका तर्फबाट भने उच्च सरकारी वकिल कार्यालयले सर्वोच्चमा निवेदन दिएको हो । सन्दीपलाई थुनामै राखेर पुर्पक्ष गर्नुपर्ने पीडित पक्षको माग छ ।