निर्वाचन र आम सञ्चार विषयक कार्यशाला रुपन्देहीमा शुरु

by समतल अनलाइन

रुपन्देही । पत्रकार महिलाका लागि निर्वाचन र आम सञ्चार विषयक कार्यशाला रुपन्देहीमा आजदेखि शुरु भएको छ ।
युएनडिपी, संयुक्त राष्ट्रसंघ निर्वाचन सहयोग कार्यक्रम, युनेस्को ,निर्वाचन आयोगको सहयोगमा सञ्चारिका समूह नेपालले आयोजना गरेकोे कार्यशालामा प्रदेश नं ५ का जिल्लाहरुमा कार्यरत २७ जना पत्रकार महिलाहरुको सहभागिता रहेको छ ।

तालिमको शुभारम्भ गर्दै सञ्चारिका समूहका पुर्ब अध्यक्ष बबिता बस्नेतले पत्रकारहरुले कुनै एक विषयमा समाचार संकलन गरेर मात्र नपुग्ने भएकाले सबै विषयमा जानकार हुन आवश्यक रहेको बताउनुभयो । जिल्ला निर्वाचन कार्यालय कपिलबस्तुका प्रमुख अयोध्या प्रसाद भण्डारीले निर्वाचन प्रकृया र प्रणालीबारे पत्रकारहरु सचेत भएमात्रै जनतामा सहि सुचना जाने बताउनुभयो । सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले पत्रकारितालाई जनतामाझ विश्वासीलो बनाउन निर्वाचन सम्बन्धमा गरिने सबै सामाग्री तथ्यपरक हुनुपर्ने भएकाले महिला पत्रकारहरुलाई कार्यशाला आयोजना गरिएको जानकारी गराउनुभयो ।
रुपन्देहीको मणिग्राममा आयोजित ३ दिने कार्यशालामा नेपाली मिडियाको अवस्था र मिडिया निति , निर्वाचनमा मिडियाको भूमिका, अभिव्यक्ति स्वतन्त्रता र निर्वाचन , सामाजिक सञ्जाल र महिला पत्रकारहरुको सुरक्षा अवस्था लगायतका विषयमा विज्ञहरुले प्रशिक्षण दिनुहुने सञ्चारिका समूहका महासचिब बिमला तुम्खेवाले जानकारी दिनुभयो ।
कार्यशालामा नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष महेन्द्र विष्ट, सञ्चारिका समूहका पुर्ब अध्यक्ष बस्नेत, सञ्चारिका समूहका अध्यक्ष पण्डित, जिल्ला निर्वाचन कार्यालय कपिलबस्तुका प्रमुख भण्डारीले प्रशिक्षण दिने कार्यक्रम छ । कार्यशालाको अन्तिम दिन प्रदेश नं ५ का महिला राजनितिज्ञहरुसंग अन्तक्रिया कार्यक्रम राखिएको सञ्चारिका समूहका कार्यक्रम संयोजक रुपा बस्नेतले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like