नामिबियामाथि नेपालको शानदार जित

by समतल अनलाइन

काठमाडौं । नेपालले नामिबियामाथि ३ विकेटको जित हासिल गरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणीय सिरिजको आजको खेलमा नेपालले नामिबियालाई ३ विकेटले पराजित गरेको हो ।

जारी सिरिजमा नेपालको यो लगातार तेस्रो जित हो ।नामिबियाले दिएको २७५ रनको लक्ष्य पछाएको नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि असिफ सेखले सर्बाधिक ८१ र पुर्व कप्तान ज्ञानेन्द्र मल्लले ६५ रन बनाएका थिए । आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि कीर्तिमानी १३९ रनको साझेदारी गरेका थिए । यो एकदिवसिय क्रिकेटमा नेपालको अहिलेसम्मको ठुलो साझेदारी हो ।

त्यस्तै कुशल मल्लले ६२ रन बनाए भने कप्तान रोहित पौडेलले ३९ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले १-१ रन बनाएर आउट भएका थिए भने सोमपाल कामीले अविजित ८ र सन्दीप जोराले ३ रन बनाएका थिए ।

त्यस्तै नामिबियाका बलर रुबेन ट्रम्पेलम्यानले ३ विकेट लिए भने बेनार्ड स्कोल्जले २ विकेट तथा टान्गेनी लुन्गामेनी र पिक्की या फ्रान्सले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले ५० ओभरमा ६ विकेट गुमाउदै २७४ रन बनाएको थियो ।नामिबियाका लागि जेन ग्रीनले अर्धशतकीय पारी खेलेका थिए । ग्रीनले अविजित ७५ रन बनाए । त्यस्तै ओपनर लो हान्ड्रे लोउवरेन्सले ४१, कार्ल बिरकेन्स्टकले २०, माइकल भान लिंगेनले २२, गेरहार्ड एरासमसले १५, जान निकोलले १५, पिक्की या फ्रान्सले २९ रन र रुबेन ट्रम्पेलम्यानले अविजित २४ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर सन्दीप लामिछानेले सर्बाधिक ३ विकेट लिए । सन्दीपले १० ओभरमा ४६ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै करण केसी र सोमपाल कामीले एक एक विकेट लिए भने नेपालले अर्को एक विकेट रन आउटको रुपमा लिएको थियो ।

यो जितपछि आईसीसी क्रिकेट विश्वकप लिग टु को अंक तालिकामा नेपालको २७ खेलमा २४ अंक भएको छ र छैटौं स्थानमा रहेको छ । त्यस्तै नामिबियाको ३३ खेलमा ३७ अंक रहेको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । जारी सिरिजमा अब नेपालले आगामी मंगलबार स्कटल्याण्डको सामना गर्ने छ ।

 
 
  
 

You may also like