टर्की–सिरिया भूकम्प : ज्यान गुमाउनेको संख्या २३ हजार नाघ्यो

by समतल अनलाइन

काठमाडौं । टर्की र सिरियामा भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या २३ हजार नाघेको छ । गएको सोमबारको भूकम्पमा परी हालसम्म २३ हजार ७ सय जनाको ज्यान गएको पुष्टि भएको स्थानीय अधिकारीलाई उदृत गर्दै अलजजिराले जनाएको छ । धेरै मानिसहरु अझै पनि भग्नावशेषमा पुरिएको आशंकामा खोजी र उद्धार कार्य जारी राखिएको छ ।

हिमपात र चिसोका बाबजुद पनि उद्धारकर्मीले खोजी अभियानलाई जारी राखेका छन् । उद्धारकर्मीले भग्नावशेषबाट केहीलाई जीवितै उद्धार गरेका छन् । भूकम्प गएको ९० घण्टापछि एक नवजात शिशु र उनकी आमाको जीवितै उद्धार गरिएको छ । यसअघि भूकम्प गएपछि भग्नावशेषभित्र जन्मिएकी एक शिशुको ३० घण्टापछि उद्धार भएको थियो ।

यस्तै १०४ घण्टापछि एक जना ६० वर्षका पुरुषको जीवितै उद्धार गरिएको उद्धारकर्ताले जनाएका छन् । टर्कीको दक्षिणी हाते प्रान्तमा भग्नावशेषमा पुरिएका ६ जनाको पनि जीवितै उद्धार गरिएको बीबीसी हिन्दीले जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा विश्वभरबाट राहत तथा सहयोग पुग्ने क्रम चलिरहेको छ ।

 
 
  
 

You may also like