टर्की र सिरिया भूकम्प : ज्यान गुमाउनेको संख्या २० हजार नाघ्यो

by समतल अनलाइन

सिरिया । भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या कम्तीमा २० हजार नाघेको छ । हालसम्म टर्कीमा १७ हजार १३४ र सिरियामा ३ हजार १६२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । दुई देशमा भूकम्पमा मृत्यु हुनेको संख्या २० हजार २९६ पुगेको छ । उक्त भूकम्पमा परी मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य संगठनले भूकम्पबाट ती दुवै देशमा गरी दुई करोड ३० लाख मानिस प्रभावित हुने अनुमान गरेको छ ।

उद्धारकर्मीहरूले अझै पनि आफ्नो काम जारी गरेका तर सय घण्टा बितिसकेकाले अब जिवितै उद्धार गर्न सकिने सम्भावना कम हुँदै गएको बीबीसीले जनाएको छ ।

अत्यधिक चिसोका कारण चौथो दिन पनि खोजीमा बाधा पुगेको छ । विज्ञहरूले जीवन बचाउने सबैभन्दा सम्भाव्य अवधिका रूपमा लिएको ७२ घण्टाको समय बितिसकेको छ । बाब अल–हवा सीमा नाकाका एक अधिकारीले एएफपीलाई बताएअनुसार विद्रोहीको कब्जामा रहेको उत्तरपश्चिमी सिरियामा बिहीबार सहायता पुगेको छ ।

एक दशक लामो गृहयुद्धमा र हवाई आक्रमणका कारण अधिकांश सुविधासम्पन्न अस्पतालहरू ध्वस्त बनेका थिए, अर्थतन्त्र ध्वस्त बनेको थियो र बिजुली, इन्धन र पानीको अभाव हुँदै आएको थियो ।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १ः२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो । एएफपी

 
 
  
 

You may also like