रुपन्देहीमा प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता हुने

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ हुने भएको छ । रुपन्देही लन टेनिस संघको आयोजना तथा बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा आगामी फागुन ६ देखि १० गतेसम्म देविनगर लन टेनिस कम्प्लेक्समा प्रतियोगिता हुने भएको हो ।

रुपन्देही लन टेनिस संघले आज बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको आवश्यक तयारी पुरा भएको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोपाल ज्ञवालीले लन टेनिस खेलको कुम्भमेलाका रुपमा देशभरका खेलाडीहरुबीच राष्ट्रिय प्रतियोगिता गर्दै आएको बताए । अध्यक्ष ज्ञवालीले रुपन्देहीमा लन टेनिस खेल र खेलाडीहरुको क्षमता विकास, नियमित अभ्यास र खेल पूर्वाधार विकासमा रुपन्देही लन टेनिस संघ निरन्तर लागेको बताए । वि.सं. २०६८ सालदेखि रुपन्देहीमा खेलाडीहरुलाई संगठित गर्दै छोटो समयमा केन्द्रमा आवद्धता भएर वार्षिक कार्ययोजना बनाई जिल्लामा उमेर समूहका खेलाडी उत्पादन, खेलकुद गतिविधि, पुर्वाधार विकास र विभिन्न तालिमहरुमा जोड दिदै आएको उनले बताए । उनले हाल देविनगरमा ४ वटा ब्यवस्थित कोर्ट रहेको बताए ।

पाँच दिनसम्म संचालन हुने प्रतियोगितामा देशभरका १ सय बढी खेलाडीहरु विभिन्न उमेर समूहमा भाग लिने खेल संयोजक तथा निवर्तमान अध्यक्ष संजय प्रकाश श्रेष्ठले बताए । पुरुष एकल खुला, ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथि, ६५ माथि, महिला एकल खुला, पुरुष युगल खुल्ला, महिला युगल खुला, पुरुष भेटान्स ३५ माथि युगल, पुरुष भेट्रान्स ४५ माथि, पुरुष भेट्रान्स ५५ माथि र ६५ माथि गरी कुल १२ इभेन्टमा संचालन हुने उनले बताए ।

प्रतियोगिताको पुरुष-महिला सिगल तर्फ उपाधि विजेताले नगद ६० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा तृतीय दुई जना खेलाडीलाई जनही २० हजार रुपैयाँ रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । सिगलतर्फ नै पुरुष ३५ वर्षमाथिको विजेता, उपविजेता तथा तृतीय स्थान हासिल गर्ने खेलाडीहरुलाई क्रमशः नगद ३० हजार, १५ हजार र १० हजार रुपैयाँ, ४५ वर्षमाथिका विजेता, उपविजेता तथा तृतीय स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ कप, मेडल, प्रमाणपत्रबाट तथा ५५ वर्षमाथि उमेर समूहको विजेता, उपविजेता र तृतीयलाई क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्रदान गरिने छ ।

यसैगरी ६५ वर्षमाथि उमेर समूहको विजेता, उपविजेता तथा तृतीय खेलाडीलाई क्रमशः १५ हजार, ७ हजार ५ सय तथा ५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरी डबल्सतर्फ पुरुष डबल्स÷महिला डबल्सको उपाधि विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरी भेट्रान्स डबल्सतर्फ ३५-४५-५५ वर्ष उमेर माथिका विजेता, उपविजेतालाई क्रमशः नगद १५ हजार र १० हजार रुपैयाँसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । १२ विधामा खेलाइने प्रतियोगिताको पुरस्कारमा ५ लाख २२ हजार ५ सय रुपैयाँ तथा कुल १८ लाख ७२ हजार ५ सय रुपैया खर्च हुने अनुमान छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष रामराज पोखरेलले खेलकुद मानव स्वस्थ्यका लागि महत्वपूर्ण भएको भन्दै खेलमा आवद्धता हुनुपर्ने बताए ।

प्रचार संयोजक तथा संघका सचिव सबर मियाले नेपाल मात्र नभई भारत, भुटानबाट समेत खेलाडीहरु आउने बताए । खेल प्रतियोगितामा सयौ खेलाडीहरु भित्रिने हुँदा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उनले बताए ।

 
 
  
 

You may also like