देवदह नगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता

by समतल अनलाइन

रुपन्देही। रुपन्देहीको देवदह नगरपालिकाद्वारा सञ्चालित देवदह नगर अस्पताल र स्वास्थ्य वीमा बोर्डबीच सम्झौता भएको छ । स्वास्थ्य बीमा गरेका नगरबासीलाई नगर अस्पतालबाटै बीमा वापत पाइने निःशुल्क उपचार, ल्याब परीक्षण र औषधीहरु नगर अस्पतालबाटै उपलब्ध गराउन नगरपालिकाले सम्झौता गरेको हो ।

नगरप्रमुख ध्रुव खरेल, नगर अस्पतालकी मेडिकल सुपरीटेण्डेण्ट डा. संज्ञा सेनसहितको टोली तथा बीमा बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रमुख शम्भुप्रसाद ज्ञवाली र उपसचिव बाबुराम खनालबीच शुक्रबार बीमा बोर्डको कार्यालयमा सम्झौतापत्र आदानपत्र भएको छ । स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ अनुसार सेवा प्रदान सम्बन्धी सम्झौता भएको हो ।

बोर्डसँग सम्झौता भएपछि अब बोर्डले अस्पतालका कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रमका विषयमा जानकारी गराउने, कार्यक्रम सञ्चालनको लागि आवश्यक जनशक्तिलाई बीमा व्यवस्थापन सूचना प्रणाली, दावी भुक्तानी तथा उपचार खर्च दररेटका बारेमा जानकारी गराएपछि फागुन १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आउने नगरप्रमुख खरेलले बताए ।

स्वास्थ्य कार्यालय, रुपन्देहीका प्रमुख गौरव ढकालका अनुसार संघीयता कार्यान्वयनमा आएपछि रुपन्देहीका १६ स्थानीय तहमध्ये नगर अस्पताल सञ्चालन र स्वास्थ्य बीमा गर्ने देवदह पहिलो स्थानीय तह हो ।

नगरपालिकाले गत असोज १० गते १० शैयाको नगर अस्पताल सञ्चालनमा ल्याइसकेको छ । साविकको देवदह स्वास्थ्य चौकीको भवनमा पूर्वाधार थपेर नगर अस्पताल सञ्चालन गरिएको हो ।

बीमा कार्यक्रम लागू भएपछि नगरबासीले नगर अस्पतालमा ल्याब परीक्षण, भिडियो एक्सरे, एक्स–रे र ११ सय ३३ थरीका औषधी निःशुल्क पाउने छन् । यसबाहेक नगर अस्पतालमा उपलब्ध नभएका सिटी स्क्यान, एमआरआई, शल्यक्रिया लगायतका सेवाका लागि अन्य अस्पतालमा रिफर हुने भएकाले सेवा पाउन सहज हुनेछ ।

नगर अस्पतालले बीमितको क्रियाशील अवधिभित्र नियमावलीमा उल्लेख भए बमोजिमको सुविधा थैली अन्तर्गतका सेवा प्रदान गर्नुपर्ने, उपचार सेवा दिँदा राष्ट्रिय उपचार संहिता ( प्रोटोकल) को अनुसरण गर्नुपर्ने, दावी भुक्तानी बीमा व्यवस्थापन सूचना प्रणालीमार्फत गर्नुपर्ने लगायतका नियम पालना गर्नुपर्नेछ । सम्झौताको अवधि पाँच वर्षको हुनेछ ।

पाँच वर्षभित्र सबै नगरवासीलाई आधारभूत स्वास्थ्य उपचार सहज रुपमा उपलब्ध गराउन सबै नगरबासीको स्वास्थ्य बीमा गरी पूर्ण स्वास्थ्य बीमायुक्त नगर घोषणा गर्ने योजना रहेको नगरप्रमुख खरेलले बताए । स्वास्थ्य बीमाको शुल्क तिर्न र नवीकरण गर्न नसक्ने विपन्न परिवारलाई नगरको बजेटबाट निःशुल्क गर्ने नगरप्रमुखले घोषणा गरेका छन् ।

स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेशका संयोजक जनक साउदले नगर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू हुँदा ठूला अस्पतालमा बीमा सेवाका लागि हुने चाप घट्ने बताए ।

नगर अस्पतालमा नगरपालिकाको स्रोतबाट ३ जना र सरकारी दरबन्दीका एकजना गरी ४ जना एमबीबीएस डाक्टर, ५ जना नर्स, ५ जना पारामेडिक्स, २ जना ल्याब टेक्निसियन कार्यरत छन् । अस्पततालमा चौबिसै घण्टा इमर्जेन्सी सेवा, प्रसुति, भिडियो एक्स–रे, प्रयोगशाला र फार्मेसी सेवा उपलब्ध छन् ।

 
 
  
 

You may also like