यतीको विमान दुर्घटना : मृत्तक पाइलट केसीको जन्म गाउँमा सालिक बनाइने

by समतल अनलाइन

कास्की। पोखराको सेती खोँचमा आइतबार बिहान जहाज दुर्घटनामा परी गाउँकै पहिलो पाइलट एवं प्रशिक्षक कमल केसीको निधनप्रति रुपा गाउँपालिकाले दुःख व्यक्त गरेको छ ।

कास्कीको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले मंगलबार केसीप्रति श्रद्धाञ्जलि तथा परिवारप्रति समवेदना प्रकट गर्दै दुःख व्यक्त गरेका हुन् । रुपा गाउँपालिका–३ स्थायी निवासी बुबा वीरेन्द्र केसी र आमा मीना केसीका जेष्ठ सुपुत्र ५९ वर्षीय क्याप्टेन कमल केसीको निधनले गाउँनै शोकमा डुबेको अध्यक्ष ओझाले बताए ।

अमेरिकाबाट पाइलट विषयमा अध्ययन गरी विसं २०४६ मा नोपल वायुसेवाबाट करियर सुरु गरी भारतको बैङ्गलोरस्थित इन्डियन एयरलाइन्स र पछिल्लो समय यती एयरलायन्समा आबद्ध क्याप्टेन केसीलेको निधनले रुपमा गाउँपालिकालाई अपूरणीय क्षति पुगेको जनाइएको छ ।

केसीलाई रुपा गाउँपालिकाको चौथो स्थापना दिवसको अवसरमा रुपा रत्न सम्मान २०७८ बाट समेत सम्मान गरिएको जानकारी अध्यक्ष ओझाले दिए । मंगलबार गाउँपालिकाको बैठकले साँझ रुपा गाउँपालिकाका सबै वडा कार्यालयमा ७२ वटा दीप प्रज्वलन गरी राष्ट्रिय झण्डा तीन दिनसम्म झुकाउने निर्णय गरेको छ ।

साथै बैठकले केसीको नाममा अर्धकदको सालिकसहितको पार्क निर्माण गरी शिलालेखमा जहाजमा दुर्घटना भएका ७२ जनाको नाम लेखिने निर्णय गरेको छ । साथै बैठकले पाइलट केसीका बारेमा स्थानीय पाठ्यपुस्तकमा समावेश गराउने निर्णय समेत गरेको छ ।

 
 
  
 

You may also like