लुम्बिनी सरकारमा एमालेले आज दाबी पेश गर्दै, लिला गिरी मुख्यमन्त्री बन्दै

by समतल अनलाइन

दाङ । नयाँ सत्ता समीकरण अन्तर्गत बनेको सत्ता गठबन्धनमा आवद्ध दलहरुले आज (मंगलबार) लुम्बिनी प्रदेश सरकार गठनका लागि बहुमतसहितको दाबी पेश गर्ने भएका छन् । दलहरुले केन्द्रीय निर्णय अनुसार एमाले प्रदेश संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गर्ने भएका हुन् ।

प्रदेश प्रमुख शेरचनले बहुमतीय सरकार गठनका लागि दिएको समय सीमाको एक दिन अगाडि नै दलहरुले दाबी पेस गर्न लागेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते ४ बजेसम्म सरकार गठनका लागि समय दिएका थिए ।
सत्ता गठबन्धनमा आवद्ध दलको सोमबार बसेको बैठकले आज (मंगलबार) नै बहुमत सांसदको हस्ताक्षरसहितको दाबी पेश गर्ने निर्णय गरेको थियो । नागरिक उन्मुक्ति पार्टी बाहेकका सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठकले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश गर्ने निर्णय गरेको थियो ।

प्रदेश प्रमुख शेरचनले आजै लुम्बिनीमा एमाले संसदीय दलका नेता एवं पूर्वमन्त्री लिला गिरीलाई मुख्यमन्त्री पदमा नियुक्त गर्ने छन् । यद्यपि, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले केन्द्रीय निर्णयप्रति असहमति जनाउँदै आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्न पाउनु पर्ने माग गरेको माओवादी स्रोतले दाबी गरेको छ । यसअघि सत्ता गठबन्धनका शीर्ष नेताहरुले लुम्बिनीमा ५ वर्षकै लागि एमालेले सरकार चलाउने सहमति गरेका थिए ।

सोमबार दाङको देउखुरीमा एमाले संसदीय दलका नेता लीला गिरीसहित सत्तापक्षीय गठबन्धनका नेताहरूको बैठकले मंगलबार ४ बजे सरकार गठनका लागि बहुमतसहितको दाबी पेस गर्ने सहमति गरेको थियो । सोमबारको बैठकमा एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा र जनमतका नेताहरूको उपस्थिति रहेको बैठकमा सहभागी एमाले सांसद भूमिश्वर ढकालले जानकारी दिए । उनले मंगलबार कम्तीमा ४९ सदस्यको समर्थनसहित सरकार गठनका लागि दाबी पेस गर्ने बताए ।

लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३(३ सिट छन् । नागरिक उन्मुक्तिसँग ४ सिट र स्वतन्त्र २ जना सांसद छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका ३ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–(१ सदस्य छन् । ती दलहरुले सरकार गठनबारे कुनै निर्णय सार्वजनिक गरेका छैनन् ।

 
 
  
 

You may also like