भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडानको माग

by समतल अनलाइन

रुपन्देही । नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट–(नाट्टा) लुम्बिनी प्रदेशले राष्ट्रिय टोपी दिवसको अवसरमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गरेको छ ।

नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तको अगुवाइमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा त्यहाँ कार्यरत कर्मचारीलाई नेपाली ढाका टोपी लगाइ दिएर उडान नियमित गर्न सबैलाई सहकार्यको लागि आह्वान गरिएको थियो ।

कर्मचारीलाई टोपी लगाउँदै अध्यक्ष पन्तले भनिन्, ‘जसरी शिरको शान ढाका टोपी रहेको छ, त्यसैगरी लुम्बिनी प्रदेशवासी र नेपालका सबै पर्यटन व्यवसायीका लागि गौतमबुद्ध विमानस्थल शान र मान हो’, उनले भने, ‘यसको गरिमा बढाउने भनेको यहाँबाट अन्तर्राष्ट्रिय जहाजको उडान निरन्तरताको लागि कर्मचारीको पनि सक्रियता र सकारात्मक सहयोग जरुरी छ ।

कार्यक्रममा पर्यटन व्यवसायी सागर अधिकारीले कुनै पनि बहानामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कटौती गर्न नहुने बताउँदै कटौती गरेमा सबै लुम्बिनीवासीले आन्दोलन गर्ने चेतावनी समेत दिए ।
पर्यटन व्यवसायी तथा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष विष्णुप्रसाद शर्माले ४० अर्ब भन्दा बढी लगानी विमानस्थलमा भएको र सय अर्ब भन्दा बढी निजी क्षेत्रको लगानी भैरहवा आसपासमा भइरहेको बताए ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सात महिनाको अवधिमा ३१ हजार छ सय १८ यात्रुले सेवा लिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी गराएका छन् ।

गत जेठ २ गते देखि पुस ३ गतेसम्म सात महिनाको अवधिमा एक सय ५४ वटा उडान र अवतरण भएको उनले जानकारी दिए । यतिबेला अल जजिरा एअरलायन्सले उडान कटौती गरेको छ । हिमालय एअरलायन्सले पनि उडान रोकेको छ । अर्कोतिर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिविलिटी कम हुँदा आन्तरिक उडान समेत प्रभावित हुँदै आएको छ । यद्यपि यो समस्यालाई निराकर गर्ने गरी अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रमेट ल्याण्डिङ सिस्टम (आइएलएस) जोडिएको भएता पनि उक्त उपकरण सञ्चालन नहुँदा समस्या सिर्जना भएको छ ।

पर्यटन व्यवसायीले आइएलएस तत्काल सञ्चालन गर्न माग गरेका छन् । उडानका लागि कम्तीमा एक हजार पाँच सयको हाराहारीमा भिजिविलिटी आवश्यक पर्छ तर यतिबेला चार-पाँच सयको हाराहारीमा भिजिबिलिटी पुग्दा बेला बेला उडान प्रभावित हुने गरेको छ ।

 
 
  
 

You may also like