न्यु होराइजनले चुम्यो साई ग्लोबल कपको उपाधि

by समतल अनलाइन

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजना भैरहवामा सम्पन्न अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगिताको उपाधि न्यु होराइजन कलेज, बुटवलले जितेको छ । आइतबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको फाइनल खेलमा काशी नोबल एकेडेमी, भैरहवालाई ४७ रनले पराजित गर्दै न्यु होराइजनले उपाधि जित्न सफल भएको हो ।

उपाधि बिजेता न्यु होराइजनले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्याे । उपबिजेतामा चित्त बुझाएको काशीले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै १ सय ३६ रनको योगफल बनायो । उसका लगि अमर मिश्राले ३४, प्रकाश गिरीले ३३, आशिष लोहनीले २० र सुमित पराजुलीले १८ रनको योगदान दिए । बलिङमा काशीका शंकर राना, सुप्रित घिमिरे र सिद्धार्थ अधिकारीले समान २–२ तथा सेजाद आलम र सन्देश जिसीले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको काशी निर्धारित खेलमा ८ विकेटको क्षतिमा ८९ रनमै समेटियो । उसका लागि शंकर रानाले २३, सन्देश जिसीले नटआउट १४ र सिद्धार्थ अधिकारीले १२ रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा न्यु होराइजनका अमर मिश्रा र सुमित पराजुलीले २–२ तथा निर्मल गुरुङ र प्रकाश गिरीले १–१ विकेट लिए ।

प्रतियोगिताका न्यु होराइजनका अमर मिश्रा म्यान अफ द सिरिज, बेष्ट बलर, बेष्ट ब्याट्सम्यान र म्यान अफ द फाइनल भए । उनी सबै विधामा गरेर ११ हजार रुपैयाँ प्राप्त गरे । भैरहवाको जेसिज उच्च मावि अनुशाति टिम घोषित भयो ।

विजेता खेलाडीलाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, प्रतियोगिता आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, रुपन्देही प्रहरी प्रमुख रवीन्द्र रेग्मी, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यद्वय राजेशकुमार अग्रवाल र महेन्द्रकुमार श्रेष्ठ, रुपन्देही क्रिकेट संघमा संस्थापक प्रेमकुमार सेन्चुरी, उद्योगपति ऋषिकेश अग्रवाल, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेलगायतले पुरस्कार प्रदान गरेका थिए । सामुदायिक र निजी विद्यालयका गरी २० टिम सहभागी प्रतियोगितालाई साई ग्लोबल एकेडेमीले मुख्य प्रायोजन गरेको थियो ।

 
 
  
 

You may also like