बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति

by समतल अनलाइन

काठमाडौँ । नेकपा एमालेलगायतका दलले नयाँ सत्ता समीकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको बैठकले प्रचण्डलाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो । साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिनेछ ।
बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार प्रचण्डलाई प्रधानमन्त्रीमा अघि सार्दै राष्ट्रपति समक्ष आइतबारै दाबी पेश गर्ने सहमति छ ।

प्रचण्डलाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन जुटेको बताइएको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले पनि नयाँ गठबन्धनलाई सघाउने छ । जनमत पार्टीका महासचिव चन्दन सिंहले सरकार बनाउने प्रक्रियामा आफूहरुले समर्थन गर्ने बताए । जनमत पार्टीका ६ जना सांसद छन् । यस्तै, नागरिक उन्मुक्ति पार्टी पनि जोडिने छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेश गर्न दलहरुलाई दिएको समयसीमा आइतबार ५ बजेसम्मका लागि छ ।

 
 
  
 

You may also like