बुटवलमा नेपथ्य ब्यान्डको कन्सर्ट हुदै

by समतल अनलाइन

बुटवल। बुटवलको रामनगरमा रहेको मानवज्ञान मावि खेल मैदानमा नेपथ्य ब्यान्डको प्रस्तुती हुने भएको छ । शनिवार मानव सेवा आश्रमको सहयोगको लागि नेपथ्य ब्याण्डको प्रस्तुती रहने छ ।

६ जना कलाकारकासाथै प्राविधिक र ब्यवस्थापन गरेर ७० जनाको विशाल टिमसहित नेपथ्य टोली बिहीबार साँझ बुटवल आइपुगेको छ । टोलीलाई बिहीबारै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र उपप्रमुख साबित्रादेवी अर्यालले फूलमालासहित स्वागत गरेका थिए । त्यस अवसरमा मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारीलगायत पदाधिकारीहरुले स्वागत समेत गरेका थिए । शनिबार बेलुकी ४ बजे स्थानीय ‘रामनगर खेलमैदान’मा प्रस्तुती हुनेछ । बुटवलमा यसअघि नेपथ्य ७ पटक आफ्नो प्रस्तुती लिएर उपस्थित भइसकेको छ ।

त्यसमध्ये ‘शान्तिको लागि शिक्षा’ अभियान लिएरै तीनपटक आएको थियो । अघिल्लोपटक सन् २०१८ मा यहाँको रंगशालामा प्रस्तुती दिनका लागि ब्याण्ड आएको थियो । ‘संगीतबाट मनोरञ्जन मात्र नभइ लोक कल्याणका हिसाबले पनि नेपथ्यको कार्यक्रम बुटवलका लागि महत्वपूर्ण छ,’ मानवसेवा आश्रमको लुम्बिनी प्रदेशस्थित संयोजक सरु अधिकारीले बताईन । कन्सर्टको लाभांशले मानवता प्रवद्र्धनका साथै बुटवलमा आश्रमको आफ्नै शाखा भवन बनाउने सोच लिइएको छ । त्यसैगरी यसबाट बेसहाराहरुको खाना, नाना र छानाका निम्ति अक्षयकोषको पनि स्थापना गरिनेछ ।

 
 
  
 

You may also like