तिनाउको सिग्नेचर ब्रीज र मोतीपूर औद्योगिक क्षेत्रबारे बुटवलका प्रमुखद्वारा छलफल, निर्माणको काम अघि बढाउन आग्रह

by समतल अनलाइन

बुटवल। बुटवलको तिनाउ नदीमा बन्ने सिग्नेचर ब्रीजका बारेमा बुटवल उपमहानगरपालिका, सडक विभाग र विश्व बैंकका प्रतिनिधिबीच छलफल भएको छ ।

तिनाउ नदीमा बन्ने पुलको डिजाइन तयार भइसकेपछि बुटवलमा पुल निर्माणका सजिला र अफ्ठ्याराका बारेमा बुटवलका नगरप्रमुख खेलराज पाण्डेयसँग छलफल भएको हो ।

काठमाडौंमा भएको छलफल कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवलले लाभ लिने गरी पुल निर्माणमा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
‘बुटवलमा बन्ने यो पुलले बुटवललाई हरेक दृष्टिबाट लाभ हुन्छ, यो पुल निर्माणको काम छिटो अघि बढाउनुपर्छ, उहाँले छलफलका क्रममा भन्नुभयो–त्यसका लागि बुटवल उपमहानगरपालिकाले कस्तो खालको सहयोग गर्नुपर्छ त्यसमा हामी तयार छौं ।’

छलफल कार्यक्रममा सडक विभागका उपमहानिर्देशक तथा वैदेशिक सहायता कार्यान्वयन महाशाखा प्रमुख रामहरि पोखरेलले अहिलेको पुल विस्थापित गरेर नयाँ पुल बन्ने भएकाले बुटवल उपमहानगरपालिकाको स्वीकृति र सहकार्य विना पुल बन्न नसक्ने बताउनुभयो ।

उहाँले पुल निर्माणसँगै बुटवलदेखि कपिलवस्तुको गोरुसिंंगेसम्मको सडक समेत विस्तार गरिने भएकाले बुटवलक्षेत्रभित्र बुटवल उपमहानगरपालिकाको सहयोग जरुरी रहेको बताउनुभयो ।

छलफलका क्रममा विश्व बैंकका वरिष्ठ यातायात विज्ञ डा. हिशाम एम फाउडले बुटवलमा पुल निर्माणका क्रममा बुटवल उपमहानगरपालिकाको साथ जरुरी रहेको बताउनुभयो । उहाँले स्थानीयलाई पुल निर्माणपछिका फाइदा र आवश्यक सहकार्यमा बुझाउँदै विश्वबैंक, सडक विभाग र निर्माण पक्षलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

 
 
  
 

You may also like