नेहा–डा. पंकज प्रकरण : महोत्तरीमा झडप, चार प्रहरी घाइते

by समतल अनलाइन

महोत्तरी । महोत्तरीको रामगोपालपुरबाट नेहा चौधरी, निहारिका राजपुतसहित तीन जना पक्राउ परेका छन् । दाइजो र घरेलु हिंसाविरुद्ध ६ दिनदेखि आन्दोलनरत उनीहरू पक्राउ परेका हुन् ।

महोत्तरीको रामगोपालपुरमा नेहा चौधरीले घरमा प्रवेश पाउनुपर्ने मागसहित भइरहेको आन्दोलनको क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो । स्थानीय र प्रहरीबीचको झडपमा चार प्रहरी घाइते भएका छन् । माइतबाट घर फर्किएकी नेहालाई घरमा प्रवेश गर्न नदिइएपछि सुरु भएको आन्दोलन आज झडपमा परिणत भएको थियो ।

नेहाले पंकजको घरमा प्रवेश पाउनुपर्ने माग राख्दै गरिएको आन्दोलनमा आन्दोलनकारीहरूले ढुङ्गामुढा गरेपछि २ सशस्त्र प्रहरी, १ नेपाल प्रहरी र १ नगर प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । झडप बढ्दै जान थालेपछि प्रहरीले ५ राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको छ । यसअघि मंगलबार नेहाका श्रीमान डा. पंकज चौधरीलाई प्रहरीले दाइजो र घरेलु हिंसा मुद्दामा पक्राउ गरेको थियो ।

नेहा र निहारिका समर्थकले नगरपालिका कार्यालयमा ढुंगामुढा र सडक जाम गर्न खोजेपछि पक्राउ गरिएको महोत्तरी प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिए । उनका अनुसार ढुंगामुढाबाट चार जना प्रहरी घाइते भएका छन् । एसपी पंगेनीले नेहाले दिएको उजुरीका आधारमा अनुसन्धान अगाडि बढिसकेकाले आन्दोलनको औचित्य नभएको बताए । बरु अनुसन्धानमा सहयोग गर्न उनले आग्रह गरेका छन् ।

 
 
  
 

You may also like