लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङबाट काम शुरू

by समतल अनलाइन

दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानीको राप्ती उपत्यका देउखुरीबाट आज औपचारिकरूपमा कार्य प्रारम्भ भएको छ । सो प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज यहाँ उद्घाटन भएको छ । आज यहाँ आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको झण्डोत्तोलन गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनले विकासको क्षेत्रमा पछि परेको देउखुरी उपत्यका अब आधुनिक सहरका रूपमा विकसित हुने बताए । उनले यस क्षेत्रको स्वास्थ्य र शिक्षाको विकास समयअनुसार अघि बढाउनुपर्ने बताए । उनले देउखुरी क्षेत्रको विकासका लागि आफ्नो प्रयास रहने बताउँदै यसका लागि यहाँका स्थानीयवासी पनि लाग्नुपर्नेमा जोड दिए ।

त्यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सङ्घीयता कार्यान्वयनमा सफल हुँदै गएको बताए । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारुले संवैधानिक व्यवस्था भएकाले लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाबाट कसैले पनि अन्यत्र सार्न नसक्ने बताए । त्यस अवसरमा नेपाली कला र संस्कृतिमा आधारित झाँकीहरू पनि प्रदर्शन गरिएको थियो ।

 
 
  
 

You may also like