मृत्तक १७ मध्ये एकै परिवारका आठ जना, शव बुझ्ने आफन्त पनि भएनन्

by समतल अनलाइन

काठमाडौं । काभ्रेपलाञ्चोकमा हिजो (मंगलबार) साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १७ जना सबैको सनाखत भएको छ । प्रहरीले सनाखत गरी ९ वटा शव मृतकका आफन्तलाई बुझाएको छ भने एकै परिवारका ८ जनाको शव आफन्त नहुँदा धुलिखेल अस्पतालमै छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार मृतक १७ जनाकै पोस्टमार्टम भइसकेको र तीमध्ये नौ जनाको शव परिवारले बुझेर धार्मिक रीतिरिवाजअनुसार दाहसंस्कारका लागि लगेका छन् ।

बाँकी ८ वटा शव बुझ्ने आफन्त नहुँदा धुलिखेल अस्पतालमै रहेको न्यौपानेले जानकारी दिएका छन् । उनीहरूको परिवारमा दुई जना घाइते अवस्थामा रहेका छन् भने एक जना विदेशमा छन् । ‘आठ शव परिवारले बुझ्न बाँकी छ, अन्य नौ शवहरूलाई परिवारको जिम्मा लगाएका छौं ।’

प्रहरी उपरीक्षक न्यौपानेले भने, ‘सानो नानी र परिवारको कान्छो छोराको उपचार भइरहेको छ । एक जना जापानमा छन् भन्ने सुनेको छु, भोलि बेलुकीसम्ममा आएर शव बुझ्ने कुरा छ ।’

एकै परिवारका आठ शव

उक्त बस दुर्घटनामा परी एकै परिवारका ८ जनाको मृत्यु भएको छ । बनेपा नगरपालिका वडा नं. ११ का ७९ वर्षीय निर्मला तामाङ, ५५ वर्षीय कुमार तामाङ, ५० वर्षीय आकुर तामाङ, ४३ वर्षीय हेमा तामाङ, ३० वर्षीय बुद्ध तामाङ, २८ वर्षीय मञ्जु तामाङ, २७ वर्षीय कोपिला तामाङ र ११ वर्षीय पुष्कर तामाङ छन् । उनीहरू सबै एकै परिवारका हुन् ।

मृतक कुमार तामाङका छोरा राजन तामाङको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ भने मृतक बुद्ध तामाङ र कोपिला तामाङकी आठ वर्षीय छोरी श्रेया तामाङको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी समेत रहेका न्यौपानेले दिएको जानकारीअनुसार २२ जना घाइतेमध्ये २ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने बनेपास्थित शिर मेमोरियल अस्पतालमा आठ जना, धुलिखेल अस्पतालमा नौजना र बाँकी तीन जना काठमाडौंको बिएनबी र भक्तपुरमा उपचाररत छन् ।

दुर्घटनामा ज्यान गुमाउनेहरू

१) ललितपुर जिल्ला महांकाल गाउँपालिका ६ बस्ने वर्ष २२ को तेजप्रसाद तिमल्सिना (चालक)
२) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष २७ की कोपिला तामाङ
३) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष ५५ को कुमार तामाङ
४) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष ११ को पुष्कर तामाङ
५) काभ्रे जिल्ला बेथानचोक गा.पा. ४ बस्ने वर्ष १९ को रविन तामाङ
६) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष ७९ की निर्मला तामाङ
७) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष २८ की मन्जु तामाङ
८) काभ्रे जिल्ला तेमाल ८ बस्ने वर्ष २९ की टिकालक्ष्मी तामाङ
९) काभ्रे जिल्ला तेमाल ८ बस्ने वर्ष ९ का गुरुलक्ष्मण दास तामाङ
१०) मकवानपुुर जिल्ला इन्द्रसरोवर गा.पा.वडा नम्वर १ बस्ने वर्ष ६ की समीक्षा थिङ
११) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष ४३ की हेमा तामाङ
१२) काभ्रे जिल्ला मण्डनदेउपुर १ बस्ने वर्ष ४१ की चेलिमाया तामाङ
१३) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष ५० को आकुर तामाङ
१४) काभ्रे जिल्ला बनेपा १४ बस्ने वर्ष ४२ को रामकुमार तामाङ
१५) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष ३० को बुद्ध तामाङ
१६) काभ्रे जिल्ला बनेपा १४ बस्ने वर्ष २८ की गीता श्रेष्ठ
१७) काभ्रे जिल्ला बेथानचोक ५ बस्ने वर्ष २४ की मञ्जु तामाङ
दुई पालिकाले दिए शोक बिदा

बेथानचोक गाउँपालिका र बनेपा नगरपालिकाले दुर्घटनामा परी मृत्यु भएको दुःख व्यक्त गर्दै र घाइतेहरूप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दुई पालिकाले एक दिन सार्वजनिक बिदा दिएका छन् । बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी र बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले सूचना जारी गर्दै शोक बिदा दिने जनाएका हुन् ।

सम्पूर्ण दिवंगत आत्माको चीर शान्तिको कामनासहित घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनाका लागि शोक बिदा दिएको अधिकारीले जानकारी दिएका छन् । गाउँपालिकाभित्रका सरकारी कार्यालयहरू, गैरसरकारी संघ–संस्थाहरू र विद्यालयहरूलाई शोक व्यक्त गर्दै बिदा दिन अधिकारीले जारी गरेको सूचनामा आग्रह गरिएको छ ।

त्यसरी नै जिल्लाका विभिन्न पार्टीहरूले पनि शोक वक्तव्य जारी गरेका छन् । नेकपा एमाले काभ्रे, नेपाली कांग्रेस काभ्रे र नेकपा माओवादी कांग्रेसले शोक वक्तव्य जारी गरेका छन् । नेकपा एमाले काभ्रेका अध्यक्ष अशोक व्यञ्जु, कांग्रेस काभ्रेका सभापति तीर्थ लामा र नेकपा माओवादी केन्द्र काभ्रेका संयोजक भोला अर्यालले वक्तव्य जारी गरेका हुन् ।

 
 
  
 

You may also like