१५ करोडको कारोवार गर्दै दोस्रो तिलोत्तमा महोत्सव सकियो

by समतल अनलाइन

रुपन्देही । तिलोत्तमाको मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ बुधबार समापन भएको छ । गत मंसिर १५ गतेदेखि शुरु भएको महोत्सवमा करिब १५ करोड आर्थिक कारोबार भएको आयोजकले जनाएका छन् ।
महोत्सव मूल आयोजक समिति संयोजक एवं आयोजक तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमका अनुसार महोत्सव अवधिमा करिब १५ करोडको आर्थिक कारोबार भएको छ । उनले पाँच लाख पाँच हजार दर्शक उपभोक्ताले महोत्सवको अवलोकन गरेको बताए ।

महोत्सवको एक कार्यक्रमकोबीच बुधबार समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीले अझैपनि सरकारले लगानीमैत्री वतावरण बनाउन नसकेको गुनासो गरे । उद्योगमैत्री नीति बनाएर राज्यले लगानीकर्ताको लगानी सुरक्षित हुने गरी प्रोत्साहन गर्नुपर्ने उनको भनाई थियो । बैंकहरुले मनोमानी रुपमा ब्याज वृद्धि गर्दा उद्योगीहरु धरासायी हुने अवस्था सृजना भएको पनि उनले उल्लेख गरे ।
कार्यक्रममा नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय महासचिव खिमनारायण पराजुली, चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल, नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय सदस्य मनिषकुमार जोशी, उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, सहआयाजक संस्था तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष बाबुलाल भुसाल, तिलोत्तमा उद्योग बाणिज्य संघका गुणनिधि भण्डारी, तिलोत्तमा उद्योग ब्यापार संगठनका महासचिव हेमलाल न्यौपाने तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि एवं स्थानीय तहका जनप्रतिनिधिहरुले धारणा राख्दै उद्योगी ब्यवसायीका समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताए । उनीहरुले तिलोत्तमा क्षेत्रमा स्थायी प्रकारकोे मेला स्थल बनाउन स्थानीय सरकारहरुले मुख्य पहल गर्नुपर्नेमा पनि जोड दिए ।

यसैबीच महोत्सवमा बुधबार गायक गायिकाहरु दुर्गेश थापा, हरिमाया रायमाझी, लक्ष्मी बस्नेत लागायतका कालाकारको प्रस्तुतिमा दर्शकहरु रमाए । कार्यक्रममा विभिन्न विधाका प्रतियोगितामा बिजयीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । महोत्सव अवधिमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, मम्मी डान्स, कुस्ती प्रतियोगिता, ब्याडमिन्टर प्रतियोगिता समेत संचालन गरिएको थियो । मेला अवधिभर विभिन्न चर्चित कलाकारहरुको संगीतिक प्रस्तुति रहेको थियो । कार्यक्रममा मेल अवधिमा सहयोग पुर्याउने विभिन्न उपसिमितिका संयोजकहरु, स्टलधनी तथा संघसंस्थालाई सम्मानपत्रले सम्मान गरिएको थियो ।
तिलोत्तमा उद्योग ब्यापार संगठनको आयोजना तथा तिलोत्तमा चेम्बर अफ कमर्श र उद्योग बाणिज्य संघ तिलोत्तमाको सहआयाजनामा भएको महोत्सवमा २ सय ४१ स्टलहरु सहभागी रहेको स्टल ब्यवस्थापन उपसमिति संयोजक सतिश सापकोटाले जानकारी दिए ।

 
 
  
 

You may also like