म पनि युवाकालको खेलाडी हुँ : प्रचण्ड

by समतल अनलाइन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खेलकुदले जनताको सम्बन्ध प्रगाढ बनाउने बताएका छन् । आज (शनिबार) देखि काठमाडौंको दशरथ रंगशालामा सुरु भएको एसिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

खेल युवाको आपसी सम्बन्ध, देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने माध्यम भएको उनले उल्लेख गरे । हरेक देशको अर्थतन्त्रको विकासमा, अन्तर्राष्ट्रिय भाइचाराको विकासमा र विश्वबन्धुत्वको दिशामा पनि खेल क्षेत्रले ठूलो भूमिका खेल्ने उनको भनाइ छ ।

उनले आफू पनि युवाकालको खेलाडी भएकाले खेलप्रति विशेष रुचि रहेको बताए । ‘मैले आफ्नो जीवनमा पहिलो पटक रग्बी खेललाई प्रत्यक्ष लाइभ हेर्दै छु । म आफैं पनि आफ्नो युवाकालको एउटा खेलाडी हुनुको नाताले प्रत्येक खेलप्रति मेरो विशेष अभिरुचि रहेको छ ।’

उनले भने, ‘भर्खरै नेपालम नवौँ राष्ट्रिय खेलको आयोजना पनि भयो । त्यसमा पनि रग्बीलाई एउटा खेलको रूपमा प्रतियोगितामा सामेल गरिएको थियो । खेल आजको दुनियाँमा विभिन्न देशका जनताको सम्बन्ध, युवाहरूको आपसी सम्बन्ध, देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने माध्यम भएको छ । यो हरेक देशको अर्थतन्त्रको विकासमा, अन्तर्राष्ट्रिय भाइचाराको विकासमा, विश्वबन्धुत्वको दिशामा पनि खेल क्षेत्रले ठूलो भूमिका खेलेको हुन्छ ।’ नेपालमा रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजनाले देश चिनाउन महत्वपूर्ण योगदान रहने उनले बताए ।

 
 
  
 

You may also like