एभरेष्ट माविले गर्याे नमुना निर्वाचन कार्यक्रम

by समतल अनलाइन

बुटवल । बुटवल सुख्खानगरमा अवस्थित एभरेष्ट इङलिस माध्यमिक विद्यालयमा बुधबार नमुना निर्वाचन कार्यक्रम गरिएको छ । मंसिर ४ गते हुने प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनको स्वरुपमै गरिएको नमुना निर्वाचन कार्यक्रममा प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवार खडा गरेर नमुना मतदान गरिएको हो ।

विद्यार्थीहरुलाई निर्वाचन प्रकृया तथा निर्वाचनका बारेमा जानकारी दिने उद्देश्यले गरिएको नमुना निर्वाचन कार्यक्रममा नाम टिपाएका पाँचसय विद्यार्थी मतदातामध्ये ९५ प्रतिशतले मतदान गरेको निर्वाचन अधिकृत मोहन पाण्डेयले जानकारी दिनुभयो । नमुना निर्वाचन कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर एक, दुई र तीनबाट क्रमश नेपाल स्वाभलम्बी पार्टीका शिवम गुरुङ्ग,मिलन रेश्मी मगर र स्पन्दन लम्साल विजयी भएको निर्वाचन अधिकृत पाण्डेयले बताउनुभयो । पाण्डेयका अनुसार गुरुङ ७० तथा मगर र लम्सालले ६५/६५ मत प्राप्त गरेका थिए । यस्तै समानुपातिकतर्फ नेपाल स्वावलम्बीकै सम्मान वाग्ले र निर्मल खड्का तथा सृजनशिल पार्टीका कृस्टल श्रेष्ठ विजयी भएका छन् । नमुना निर्वाचन मतदान कार्यक्रममा युवा शक्ति पार्टी, सृजनशिल पार्टी र युवा शक्ति पार्टीका नमुना प्रतिनिधी खडा गरेर कार्यक्रम गरिएको विद्यालयका सहायक प्राचार्य भिमसेन गौतमले जानकारी दिनुभयो ।

६ वटा मतपेटीका स्थापना गरिएको नमुना निर्वाचन कार्यक्रममा शिक्षक राजिव वेल्वासे, बालकृष्ण भुसाल, माधवप्रसाद पौडेल, भुवनेश्वर भण्डारी र सरस्वती पाण्डेले मतदान अधिकृतको भुमिका निभाउनु भएको थियो । कक्षा ८, ९ र १० का विद्यार्थीहरु सहभागि भएको नमुना निर्वाचन कार्यक्रममा प्रत्यक्षतर्फ नौ र समानुपातिकतर्फ नौ जना गरि १८ उम्मेदवार विभिन्न चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिएका थिए । मुलुकमा समय समयमा हुने स्थानीय, प्रदेश र संघीय निर्वाचनको प्रतिकृया, उम्मेदवार र मतदाताले प्रयोग गर्ने मताधिकार तथा मतदाता शिक्षाबारे जानकारी गराउने उद्देश्यले नमुना निर्वाचन कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले बताउनुभयो ।

कार्यक्रममा महिला पुरुष लाईन, गोप्य मतदान, स्वस्तिक छाप लगाउने तरिका, नमुना मतपत्र, उम्मेदवार र मतको महत्वका बारेमा विद्यार्थीलाई प्रत्यक्ष रुपमै जानकारी गराइएको प्राचार्य न्यौपानेले बताउनुभयो ।

 
 
  
 

You may also like