दार्चुलामा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, एक जना गम्भिर घाइते

by समतल अनलाइन

दार्चुला । दार्चुलामा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जना गम्भिर अवस्थामा छन् । नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएका सत्ता गठबन्धन दलका र नौगाडको जामिरमा आम सभा गरिरहेको एमालेका कायर्कर्ताबीच झडप भएको हो ।

झडपमा परी नौगाड–६ का गठबन्धनका कार्यकर्ता ३५ वर्षीय जयभानसिंह धामी र नौगाड–५ का एमाले कार्यकर्ता २४ वर्षीय निरे ठगुन्ना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । ठगुन्नालाई सामान्य चोट लागेको र गम्भिर रहेका धामीलाई धनगढी रिफर गरिएको उनले बताए ।

पार्टीको चुनावी सभालाई अवरोध गर्ने गरी आम सभामा जाने कार्यकर्तालाई रोक्न खोज्दा झडप भएको एमालेको नौगाड गाउँपालिका कमिटीका अध्यक्ष जनकसिंह ठगुन्नाको भनाइ छ । गठबन्धनका नेताले भने एमाले कार्यकर्ताले आफ्ना कार्यकर्तालाई कुटपिट गरेको बताएका छन् ।

गएको २४ गते पनि अपि हिमाल गाउँपालिका–५ ओखलमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको थियो । एमाले प्रदेश सभा २ का उम्मेदवार रामदत्त जोशीको टोलीमाथि गठबन्धनका कार्यकर्ताले प्रचारमा अवरोध गरेपछि झडप भएको थियो । त्यस झडपमा दुवै पक्षका चार जना घाइते भएका थिए ।

 
 
  
 

You may also like