निर्वाचनमा प्रतिगमन परास्त गर्ने गरी जनताले एकता प्रदर्शन गर्नुपर्छ : प्रचण्ड

by समतल अनलाइन

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रतिगमन परास्त हुने गरी जनताले एकता प्रदर्शन गर्नुपर्ने बताएका छन् ।

चितवनमा आज (शनिबार) गठबन्धनले आयोजना गरेको चुनावीसभामा प्रचण्डले देशमा फेरि राजनीतिक दुर्घटना गर्न खोज्ने प्रतिगामी र अवसरवादी तत्वहरुलाई पूरै पराजित गर्ने गरी जनताले एकता प्रदर्शन गर्नुपर्ने बताएका हुन् ।

‘जसरी १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रमा एकताको प्रदर्शन हामीले गर्‍यौं, त्यसै गरी आउने मंसिर ४ को निर्वाचनमा पनि देशभरिका जनताले गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमत दिएर विजयी बनाएपछि देशमा फेरि राजनीतिक दुर्घटना गर्न खोज्ने प्रतिगामी र अवसरवादी तत्वहरु पूरै पराजित हुनेछन्,’ उनले थपे, ‘स्थिरता र विकासको एउटा नयाँ मार्ग खुल्नेछ ।’

प्रचण्डले यो निर्वाचन देशलाई अगाडि लैजाने कि पछाडि धकेल्ने भन्ने जनमत संग्रह जस्तै भएको बताए । ‘चितवनवासी जनसमुदायलाई म अपिल गर्न चाहन्छु, हामीले इतिहासको यो अवसरलाई विल्कुल गुम्न दिनु हुँदैन । यो निर्वाचन वास्तवमा विकास, समृद्धिको नयाँ यात्रातिर देशलाई लैजाने हो या अराजकता, निरंकुशता, सामन्तीतन्त्रतिर लैजाने भन्ने जनमत संग्रह जस्तो हुँदैछ,’ उनको भनाइ थियो ।

गठबन्धन बनेपछि प्रतिगमनको खतरा कम बन्दै गएको र अग्रगमन विजयी बन्दै गएको प्रचण्डले दावी गरे । ‘संविधान रक्षा, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको रक्षाको पुनित उद्देश्यले नै यो गठबन्धन बनेको हो । यो गठबन्धन बनेपछि सकारात्मक दिशामा देश अगाडि बढेको छ । मुख्यतः स्थानीय तह निर्वाचन गठबन्धनको तर्फबाट सम्पन्न गरियो । ७५३ वटा स्थानीय तहको सरकार ५ वर्षका लागि बनेका छन् । प्रतिगमनको खतरा कम बन्दै गएको छ, अग्रगमन विजयी बन्दै गएको छ,’ उनले भने ।

 
 
  
 

You may also like