अनुदान रकम दुरुपयोग गर्ने सेवाग्राहीबाट रकम अशुल गरिन्छ : मन्त्री पौडेल

by समतल अनलाइन

प्रकाश खनाल
बुटवल, १७ कार्तिक । प्रदेश नं ५ को भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री आरती पौडेलले अनुदानको रकम लिएर काम नगर्ने सेवाग्राहीबाट सरकारी बाँकी सरह रकम अशुल गर्ने र नियतबस गलत काम गर्ने कर्मचारीलाई कार्बाही गर्ने प्रतिवद्धता जनाएकी छन् ।

आइतबार बसेको प्रदेश सभाको कृषि,वन तथा वातावरण समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले कृषि तथा पशुपालनका लागि प्रदेश सरकारबाट अनुदान रकम लिएर खेती नगर्ने र पशुपालन नगर्ने सेवाग्राहीबाट सरकारी काँकी सरह रकम अशुल गर्ने र नियतबस गलत काम गर्ने कर्मचारीमाथी छानबिन गरी दोषि पाइए कार्बाही गर्ने प्रतिवद्धता जनाएकी हुन् ।

समितिले स्थलगत रुपमा अनुगमन गरी ल्याएको रिपोर्टले मन्त्रालयलाइ आफ्ना कमि कमजोरीहरुबारे जानकारी मिलेको भन्दै मन्त्री पौडेलले आगामि दिनमा कमि कमजोरीहरु सच्याएर अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
बैठकमा समितिका सभापति बिजय बहादुर यादबले कामै नगरीकन अनुदानको रकम निकासाका लागि सिफारिस गर्ने कर्मचारीहरुलाई कार्बाहीको दायरामा ल्याउन र दुरुपयोग भएको रकम अशुल गर्न मन्त्रालयलाई निर्देशन दिएका थिए ।

कर्मचारीको बचाउ गरेपछि सचिबमाथि खनिए प्रदेश सभा सदस्यहरु

अनुदान रकम तथा कृषि यन्त्र दुरुपयोगबारे छलफल गर्न बोलाइएका मन्त्रालयका सचिब तेज बहादुर सुबेदीले काम गर्ने क्रममा कर्मचारीहरुबाट पनि कमि कमजोरीहरु भएको हुन सक्ने भन्दै अगामि दिनमा सच्याउदै जाने बताए पछि समितिका सदस्य प्रदेश सभा सदस्यहरु सचिबप्रति खनिएका थिए ।

गलत काम गर्ने कर्मचारीमाथी कार्बाही गर्छौ भन्ने प्रतिवद्धता जनाउनु पर्नेमा सचिबले कर्मचारीहरुको बचाउ गर्न खोजेको भन्दै उनिहरुले गलत काम गर्ने कर्मचारीलाई कार्बाही गर्न र अनुदानको रकम दुरुपयोग गर्ने सेवाग्राहीबाट रकम अशुल गर्नुपर्ने जिकिर गरेका थिए ।
कामै नगरीकन अनुदानको रकम लिएका सेवाग्राहीलाई रकम निकासाका लागि सिफारिस गर्ने कर्मचारीहरुलाई कार्बाहीको दायरामा नल्याए मन्त्रालयका उच्च कर्मचारीको नियतमै शंका गर्नुपर्ने भन्दै प्रदेशसभा सदस्यहरुले गलत काम गर्ने कर्मचारीको बचाउ गर्ने खालको गैर जिम्मेवार र काइते जवाफ नदिन मन्त्रालयका सचिबलाई सचेत गराएका थिए ।

बैठकमा प्रदेश सभा सदस्य चेतनारायण आचार्यले भने–‘कर्मचारीले गल्ती गर्ने त्यसको दोष मन्त्री र सरकारलाई दिने ? गलत काम गर्ने कर्मचारीलाई कार्बाहीको दायरामा ल्याउछौ पनि भन्न नसक्ने त्यस्तो गैर जिम्मेवार र काइते जवाफ नदिनुस् ।’प्रदेश सरकारद्धारा किशानलाई बितरण गरेको अनुदानको रकम र कृषि यन्त्र दुरुपयोग भएका समाचारहरु सार्बजनिक भएपछि अनुगमनमा गएको समितिले उक्त रकम र उपकरण दुरुपयोग भएको तथ्य फेला पारेको थियो ।

अनुगमनका क्रममा कृषि प्रयोजनका लागि बितरण गरिएका पिकअप भ्यान तथा ट्रयाक्टर कृषि प्रयोजन भन्दा ढुंगा,गिट्टी,बालुवा ढुवानीमा प्रयोग भएको पाइएको र कतिपय ठाउमा पाउनुपर्ने व्यक्ति तथा समूहले अनुदानको रकम नपाएको तर कामै नगरेका व्यक्तिहरुले पनि रकम लिएर दुरुपयोग गरेको प्रदेश सभा सदस्यहरुको दाबी छ ।

समितिका सभापति बिजय बहादुर यादवको सभापतित्वमा सम्पन्न बैठकमा प्रदेशसभा सदस्यहरु कमल प्रसाद श्रेष्ठ,चेतनारायण आचार्य,कृष्णध्वज खड्का,कबिराम थारु रमा घर्ती लगायत ले आ -आफ्नो भनाई राखेका थिए ।

 
 
  
 

You may also like