नवनियुक्त राजदूत र प्रेस काउन्सिलका कार्यवाहक अध्यक्षबीच भेटवार्ता

by समतल अनलाइन

काठमाडौँ।अष्ट्रेलियाका लागि नेपालका राजदूत महेशराज दाहाल र प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठबीच सूचना प्रविधिका विकासबारे नियमित परामर्श तथा अध्ययन–अवलोकन भ्रमणका बारेमा छलफल भएको छ ।

adad
प्रेस काउन्सिलमा आइतबार भएको भेटका क्रममा दुई देशका मिडियाबीच अनुभव आदानप्रदान, सम्बन्ध विस्तार, नेपाल भ्रमण वर्ष २०२० को सफलतालगायत विषयमा छलफल भएको छ । दाहाल सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा अष्ट्रेलियाका लागि हालै राजदूतमा नियुक्त भएका थिए ।

राजदूत दाहाल यही कात्तिक २० गते अष्ट्रेलिया जाने र यही कात्तिक २७ गते त्यहाँका गभर्नर समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । दाहाललाई फिजी र न्युजिलैण्डकोसमेत कार्यक्षेत्र जिम्मेवारी तोकिएको छ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष श्रेष्ठले नवनियुक्त राजदूतलाई बधाई दिँदै कार्यकाल सफलताको कामना गरे ।

अष्ट्रेलियन प्रेस काउन्सिल (एपिसी) को निमन्त्रणामा सन् २०१७ नोभेम्बर १२ मा प्रेस काउन्सिल नेपालको पाँच सदस्यीय प्रतिनिधिमण्डलले सिड्नीको भ्रमण गरेको थियो । एपिसीले मिडियाको आचारसंहिता अनुगमन एवं नेपालको वितरण सम्परीक्षण समिति (एबिसी) जस्तै अखबार वर्गीकरणको काम गर्दछ ।

भूगोलका हिसाबले विश्वको छैठौँ र नेपालभन्दा ४८ गुणा विशाल राष्ट्र अष्ट्रेलियाको जनसङ्ख्या अढाई करोड मात्रै छ । आकर्षक शैक्षिक गन्तव्य रहेको अष्ट्रेलियामा नेपाली विद्यार्थीले वार्षिक रु १३ अर्ब शिक्षण शुल्कवापत खर्च गर्छन् भने त्यताबाट रेमिट्यान्स छ अर्ब मात्रै नेपाल भित्रिने गरेको छ ।

हालसम्म २५ हजारको हाराहारीमा अष्ट्रेलियन पर्यटक नेपाल आएका छन् ।

 
 
  
 

You may also like