चीनका सँस्कृति उपमन्त्री आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

by समतल अनलाइन

काठमाडौं । चीनको सँस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन नेपाल एयरलायन्सको विमानबाट आज (शुक्रबार) राति साढे १० बजे काठमाडौं आउने भएका छन् । उनी नेपाल एयरलायन्सको आरए ४०२ फ्लाइटबाट हङकङ हुँदै काठमाडौं आउन लागेका हुन् ।

भूकम्पपछि चीनको सहयोगमा पुनर्निर्माण भएका सम्पदाहरूको अवलोकन गर्न उनी नेपाल आउन लागेका हुन् । पर्यटनमन्त्री जीवनराम श्रेष्ठका स्वकीय सचिव भीमसेन राजबाहकले चिनियाँ मन्त्रीको नेपाल भ्रमणबारे पुष्टि गर्दै चिनियाँ लगानीमा बनेका सम्पदाहरूको अवलोकन गर्ने कार्यक्रम रहेको बताए ।

नेपालमा निर्वाचनको माहौल तातिरहेका बेला हुन लागेको चिनियाँ मन्त्रीको भ्रमणलाई अर्थ पूर्णरूपमा लिइएको छ । यद्यपि उनको भ्रमणलाई राजनीतिक हिसाबले हेर्न नहुने परराष्ट्र स्रोतले जानकारी दियो । ‘उहाँ चिनियाँ सहयोगमा बनेका सम्पदाहरु अवलोकन गर्न आउन लाग्नु भएको हो । उहाँको भ्रमणलाई राजनीतिकरूपले नहेरौं,’ स्रोतले भन्यो ।

नेपाल भ्रमणका क्रममा चिनियाँ मन्त्री छ्युनले वसन्तपुरस्थित हनुमानढोकाको ९ तल्ले दरबार अवलोकन गर्ने कार्यक्रम छ । त्यहाँ पर्यटनमन्त्री जीवनराम श्रेष्ठले स्वागत गर्ने कार्यक्रम छ । त्यस्तै मन्त्री छ्युन पशुपतिनाथ मन्दिर, पाटनस्थित कृष्ण मन्दिर, भक्तपुर दरवार स्क्वायरको भ्रमण गर्ने कार्यतालिका रहेको परराष्ट्र स्रोतले जानकारी दियो ।

 
 
  
 

You may also like