पिपुल्स हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुल्यो

by समतल अनलाइन

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले आज (शुक्रबार) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित कूल ५६ लाख ६ हजार ३९० कित्ता साधारण शेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात् २ लाख ८० हजार १९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । ३ प्रतिशत अर्थात् १ लाख ६८ हजार १९० कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता शेयरका लागि आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्ने जनाइएको छ । निष्काशन बन्द छिटोमा कात्तिक २९ गते हुनेछ । सो अवधिसम्म माग अनुसार आवेदन नपरेमा मंसिर ९ गतेसम्म आवेदन दिने म्याद थप गरिनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा मेरो शेयर वेबसाइट र एपमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । यो कम्पनीले लमजुङको दोर्दीखोलामा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

 
 
  
 

You may also like