सुनकोशी बस दुर्घटनामा अपडेट : मृतकको संख्या १७ पुग्यो

by समतल अनलाइन

सिन्धुपाल्चोक । दोलखाको मागादेउरालीबाट काठमाडौं जाँदै गरेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सिन्धुपाल्चोकको चौतारा सांगचोकगढी नगरपालिका ९ सुकुटे र चेहेरे स्थित अरनिको राजमार्गबाट सुनकोशी नदीमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काप्लेका अनुसार नदीमा खसेको बसबाट १७ जना यात्रुको शव निकालिएको छ । अन्य यात्रुहरु नदीमा हराइरहेको बताइएको छ । सो बसले ४० जना भन्दा बढी यात्रु बोकेर राजधानी जाँदै गरेको प्रत्यक्षदर्शीले बताएका छन ।

बस नदीमा पुरै डुबेको थियो । सो कारण मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । केही यात्रु नदीले बगाएको जानकारी प्राप्त भएको छ । मृतकको सनाखत हुँदै गरेको प्रहरीले बताएको छ । केही शव नदीले बगाउँदै गरेको अवस्थामा निकालिएको छ । तीव्र गतिका कारण सो बस अनियिन्त्रत भई दुर्घटना भएको जिप्रकाले बताएको छ ।
मृतकहरुमा बढी महिला र बालबालिका रहेका छन् । नदीमा डुबेको सो बस साँझ ५ बजेतिर सडकमा उतारिएको छ । उतारिएको बसमा कोही पनि यात्रु नभेटिएको डिएसपी काप्लेले भने ।

दुर्घटनामा परेका चालक धनबहादुर तामाङ र एक बालकको उद्धार गरिएको छ । चालक तामाङको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि भुलिखेल अस्पताल रिफर गरिएको छ । बगाएका यात्रुहरुको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ । उद्धार गरिएका मध्य ६ जना गम्भिर घाइते छन् ।

दोलखाको शैलुङ्गेश्वरी यातयातको उक्त बस आइतबार दिउँसो १ बजेर १५ मिनेट जाँदा अरनिको राजमार्गबाट सिधै सुनकोशी नदीमा खसेको थियो । घाइतेहरुको दोलालघाटस्थित प्राथमिक स्वास्थ्य केन्द्र, खाडीचौरको सदाबहार अस्पताल, धुलिखेल अस्पताललगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उद्धार कार्यमा सुरक्षाकर्मी र स्थानीय जुटेका थिए ।

 
 
  
 

You may also like