रुपन्देही–३ : खाणलाई सहज बन्दै, बोहोरालाई चुनौती थपिँदै

by समतल अनलाइन

भैरहवा । बहालवाला गृहमन्त्री एवं पाँच दलीय गठबन्धनबाट काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण र तीन दलीय गठबन्धनबाट राप्रपा नेता एवं पूर्वमन्त्री दीपक बोहरा चुनावी मैदानमा उत्रिएपछि रुपन्देही क्षेत्र नम्बर ३ मुलुकभर चर्चामा छ । पटक–पटक निर्वाचन जित्दै आएका यी दुई नेताबीच नै यहाँ मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

दुबै नेता अहिले गठबन्धनको आडमा निर्वाचन परिणाम आफ्नो पोल्टामा पार्न दौडधुप गरिरहेका छन् । ‘हेबिवेट’का दुई नेताको प्रतिस्पर्धाले यहाँको निर्वाचन रोचक हुने देखिन्छ । खाँण र बोहरा दुबै नेता सहजै मतदातासँग घुलमिल गर्न सक्नेमा पर्छन् । मतदातालाई प्रभावित पार्नसक्ने खुबी भएका यी नेता चुनावी मैदानमा उत्रिँदा क्षेत्र नम्बर ३ रुपन्देहीकै मुख्य केन्द्रमा छ । खाण केन्द्रीयस्तरमा राम्रो पहुँच राख्ने नेतामा पर्छन् । बहालवाला गृहमन्त्री र प्रभावशाली नेता भएकाले खाणसँग मतदाता प्रभावित भइरहेका छन् । यसले उनी हौसिएका छन् । बोहराले भैरहवा क्षेत्र सामान्य प्रभाव राख्ने भए पनि घाँटीमा समस्या हुँदा बोल्न सकेका छैनन् । उनले आफ्ना कुरा अन्य नेताहरु मार्फत् मतदाता समक्ष पुर्याइरहेका छन् । यसले गर्दा उनलाई मतदाता प्रभावित पार्न समस्या भइरहेको बताइन्छ । खाणलाई पाँच दलीय गठबन्धन र जनमुक्ति पार्टीको समर्थन छ भने बोहरालाई एमाले र जसपाको साथ छ । अहिले खाणले आफ्ना विगतका कामलाई देखाएर र आगामी योजनाबारे बेलिविस्तार गर्दै मतदाता समक्ष पुगिरहेका छन् ।

‘रुपन्देहीलाई मुलुककै विकासको केन्द्र बनाउने मेरो र गठबन्धनको लक्ष्य छ’, गृहमन्त्री खाणले भने, ‘यसका लागि निर्वाचिन पछि सिद्धार्थ रिङरोड, सेमलारमा अत्याधुनिक कृषि थोक बजार लगायतका योजनाबाट पहिलो चरणको काम सुरुवात हुने छ । अरु योजना पनि जिल्लामा ल्याइने छ ।’ निर्वाचनको मिति नजिकिँदै जाँदा क्षेत्र नम्बर ३ मा स्वतन्त्रदेखि दलगत उम्मेदवारहरुले चुनावी अभियानलाई आक्रामक बनाउँदै लगेका छन् । दलहरुमा हारजितको जोडघटाउ भइरहेको छ । गत बैशाखमा सम्पन्न स्थानीय तहको मतपरिणाम अनुसार सत्ता गठबन्धनसँग ४० हजार १ सय ८५ मत छ भने राप्रपासहितको एमाले गठबन्धनको ४८ हजार ६ सय २८ मत छ । यस हिसाबले सत्ता गठबन्धनका खाण भन्दा तीन दलीय गठबन्धनका बोहरा ८ हजार ४ सय ४३ मतले अगाडि छन् । तर, पछिल्ला दिनमा स्थानीय तहको मत परिणामको समिकरण फेरिएको छ । निर्वाचन माहोल तात्दै जाँदा भने गणितीय हिसाबमा बोहराभन्दा खाँण अगाडि देखिन थालेको गठबन्धनको दावी छ ।

‘धेरै कारणबाट हामी अघि देखिएका छौं, न्युटल मतदाता हाम्रो पक्षमा लागिसक्नुभएको छ’, काँग्रेस क्षेत्रीय सभापति सुशील गुरुङले भने । गठबन्धन दलहरुका अनुसार घनश्याम भुसाल एमाले त्यागेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवार बन्दा रुपन्देही ३ मा एमालेका कम्तिमा ४ हजार मत प्रभावित भएको बताइन्छ । क्षेत्र नम्बर १ मा भुसाललाई सत्ता गठबन्धनले सहयोग गरेका कारण पनि उनी पक्षीयहरुले क्षेत्र नम्बर ३ मा खाणलाई सहयोग गर्ने भएका हुन् । ‘हाम्रा ४ हजार बढी मत दायाँवायाँ हुँदैनन्, सबै सत्तागठबन्धनलाई जानेछन्’, भूसालका सहयोगी मनोजकुमार रिजालले भने, ‘यस हिसाबले पनि खाणजी अझै बलियो बन्दै जानुभएको छ ।’ उक्त ४ हजार मत खाँणलाई आउँदा बोहराको चार हजार मत घट्ने र यही मतका आधारमा खाण र बोहरा बराबर अवस्थामा आउने हिसाब गठबन्धनको छ । यसबाहेक खाँणलाई राष्ट्रिय जनमुक्ति पार्टीको पनि समर्थन मिलेको छ । जनमुक्तिको यस क्षेत्रमा ३ हजार बढी मत छ । अर्कातर्फ चुनावी अभियानकै क्रममा राप्रपा, एमाले, जसपा लगायत अन्य पार्टी र स्वतन्त्र गरी करिब ३ हजार ५ सय कार्यकर्ता कांग्रेस प्रवेश गरेको बताइन्छ । यसले पनि खाणलाई सहज हुँदै गएको दावी गरिएको छ । ‘हामी अहिले साढे ६ हजार मतले अघि छौं’, गुरुङ भन्छन्, ‘अन्तिम दिनसम्म यो संख्या दोब्बरले बढ्ने छ । गठबन्धनप्रति आकर्षण छ ।’

एमाले, राप्रपा र जसपा गठबन्धनले भने बोहराले यस क्षेत्रको विकासमा योगदान दिएकाले जित सहज भएको दावी गरेको छ । ‘त्यसै त हामी ८ हजार मतले अघि थियौं, त्यसैमा पार्टी प्रवेश गर्नेक्रम पनि बढीरहेको छ,’, राप्रपा केन्द्रीय सदस्य स्वाती थापाले भनिन्, ‘विगतमा बोहराजीले यस क्षेत्रमा गरेको विकास निर्माणले गर्दा पनि हामी सहज जित्छौं ।’ राप्रपाका नेताहरुले अहिले विभिन्न ठाउँमा आयोजना गरिने कोणसभाहरुमा आफ्नो मत जोगाए जित निकाल्न कुनै अप्ठ्यारो नभएको बताउँछन् । दुबै गठबन्धनका उम्मेदवारले आ–आफ्नो जितको दावी गरिरहँदा अहिलेसम्मको आँकडाअनुसार राजनीतिक रुपमा चतुर खेलाडी मानिएका खाण र बोहरा नै मुख्य प्रतिस्पर्धी देखिएका छन् । उनीहरुमा कसले बाजी मार्छ ? त्यो भने मंसिर ४ पछि नै थाहा हुने छ । तर, ‘हेबिवेट’का यी दुई नेताको प्रतिस्पर्धा भने कडा हुने देखिन्छ । यसमा केही स्वतन्त्र उम्मेदवार र अन्य राजनीतिक दलहरुले ल्याउने मतले पनि खाँण र बोहराको हारजितमा प्रभाव पार्न सक्ने बताइन्छ । बोहरा अहिलेसम्म ९ पटक मन्त्री भइसकेका छन् ।

पञ्चायतदेखि गणतन्त्रसम्म सत्ताको स्वाद लिएका बोहरालाई अहिले खाण चुनौति बनेका छन् । कतिपय मतदाताले बोहराले सत्ताका लागि पार्टी फुटाउने र मन्त्री बन्न मरिहत्ते गर्ने आरोप समेत लगाउँछन् । मतदाताको यस्तो आरोपले खाणलाई सहजता दिएको छ । खाँण पनि पटकपटक मन्त्री भएका नेता हुन् । बोहरालाई ९ पटक मन्त्री हुँदा क्षेत्र र जिल्लाको विकासमा खासै काम नगरेको आरोप छ । तर, बोहराले भैलोभुज लगायत खानेपानीको योजना ल्याएको बताउँदै आएका छन् । खाणले गौतमबुद्ध विमानस्थल, विशेष आर्थिक क्षेत्र, भैरहवा–बुटवल व्यापारिक मार्ग, तिनाउ र दानव नदीमा दजैनौं पुल निर्माण, जनताको तटबन्ध कार्यक्रम, खानेपानी र सिंचाई योजना जिल्लामा ल्याउन भूमिका खेलेको बताउँदै आएका छन् । बोहरालाई अहिले एमाले र जसपाको मत पूरै आफूतिर आउँछ की आउँदैन भन्ने चिन्ता छ । खाण भने एमाले र जसपाकै मत चोरेर जित्ने दाउमा छन् ।

खाण २०७४ मा समानुपातिक सांसद हुँदा तत्कालीन एमाले नेता भुसालले बोहरालाई फराकिलो अन्तरले पराजित गर्दै प्रत्यक्ष निर्वाचन जितेका थिए । भुसाल बाम गठबन्धनका साझा उम्मेदवार थिए भने बोहरालाई काँग्रेसको समर्थन थियो । भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहराले २७ हजार ४२२ मत पाएका थिए । २०७० मा भने खाणले भुसाललाई ८६ मतले पराजित गरेका थिए । यस क्षेत्रबाट २०६४ सालमा पनि खाण नै विजयी भएका थिए । क्षेत्र नम्बर ३ मा बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन् । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा क्षेत्रमा पर्ने सबै पालिका काँग्रेसले जितेको छ । १ लाख ३२ हजार ७९१ मतदाता रहेको क्षेत्र नम्बर ३ मा दलगत र स्वतन्त्र गरी २२ जना प्रतिस्पर्धामा छन् ।

 
 
  
 

You may also like