बुटवललाई स्वास्थ्य सुविधामा अब्बल बनाउने गरी काम गर्न प्रमुख पाण्डेयद्वारा स्वास्थ्यकर्मीलाई निर्देशन

by समतल अनलाइन

बुटवल। बुटवल उपमहानगरपालिकालाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउने गरी काम गर्न नगर प्रमुख खेलराज पाण्डेयले स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभएको छ ।

पालिकास्तरीय ०७८÷०७९ को पोषण समीक्षा तथा कार्ययोजना कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य सुविधाका क्षेत्रमा अगुवा शहर बनाउने गरी काम गर्न निर्देशन दिनुभयो ।

उहाँले बुटवलमा कसैले पनि स्वास्थ्य उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना नहुने गरी कार्ययोजना बनाउने र त्यसैअनुसारले जनशक्ति परिचालन गर्न जोड दिइने बताउनुभयो ।

‘हामीले बुटवलभित्रका बासिन्दाले उपचार अभाव भयो, औषधि अभाव भयो र समयमा उपचार गर्न पाइएन भन्ने अवस्था सिर्जना गर्नुहुन्न, उहाँले भन्नुभयो–अहिले हामीसँग उपलब्ध श्रोत साधन र जनशक्तिको भरपूर उपयोग गरेर सेवाप्रवाह गरौं, आगामी दिनमा हाम्रा स्वास्थ्य केन्द्रहरुको स्तर वृद्धि हुनेछ र थप अस्पतालहरु बन्नेछन्, यसले बुटवललाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउनेछ ।’
उहाँले बुटवलमा विशिष्टीकृत अस्पताल स्थापनाका लागि संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्य भइरहेको बताउँदै छिटै नै बुटवल स्वास्थ्य सुविधाका क्षेत्रमा अगुवा शहर बन्ने बताउनुभयो ।

नगर प्रमुख पाण्डेयले मातृस्वास्थ्य र शिशुस्वास्थ्यमा विशेष चासो दिन र उपचारमा विशेष प्राथमिकता दिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो । गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य बीमाको कार्यक्रमबारे विज्ञहरुसँग परामर्श भइरहेको र छिटै नै प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यमा पोषणको महत्वपूर्ण भूमिका रहने भएकाले यो कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले बुटवलमा स्वास्थ्य उपचार प्रभावकारी बनाउनका लागि क्रियाशील हुनका लागि स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले स्वास्थ्य सुविधा प्रदानका लागि स्वास्थ्यकर्मीहरु प्रतिबद्ध रहेको बताउनुभयो ।
पालिकास्तरीय ०७८÷०७९ को पोषण समीक्षा तथा कार्ययोजना कार्यक्रममा हालसम्मको प्रगति र आगामी कार्ययोजनाबारे छलफल हुने शिक्षा तथा जनस्वास्थ्य महाशाखाकी कमला भुसालले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like