४२ वर्षीय ऋषि सुनक बने बेलायतको नयाँ प्रधानमन्त्री

by समतल अनलाइन

काठमाडौं । बेलायतको नयाँ प्रधानमन्त्रीमा ऋषि सुनक निर्वाचित भएका छन् । पूर्व मन्त्री पेनी मोर्डन्टले प्रधानमन्त्री पदमा प्रतिस्पर्धा नगरेपछि ४२ वर्षीय सुनक निर्वाचित भएका हुन् । सुनकले राजा चार्ल्सलाई बकिङहम दरवारमा भेटेसँगै नयाँ प्रधानमन्त्री बनेका हुन् ।

प्रधानमन्त्रीमा नियुक्त हुनुअघि सुनकलाई सरकार गठनका लागि बेलायती राजा चार्ल्सले आमन्त्रण गरेका थिए । नयाँ प्रधानमन्त्रीका रूपमा सुनकले डाउनिङ स्ट्रीटको १० नम्बर बाहिर पहिलो मन्तव्य दिएका थिए । मन्तव्यका क्रममा सुनकले आफू हरेक तहमा इमान्दारिता, व्यावसायिकता र जवाफदेहिता हुने बताए ।

सुनकले भने, ’अविश्वसनीय उपलब्धीहरू’ को लागि बोरिस जोनसनप्रति सधैं कृतज्ञ छुँ । जोनसनको न्यानोपन र उदारताको कदर गर्नेछु ।’ बेलायतकी प्रधानमन्त्री लिज ट्रसले ४५ दिनमै राजीनामा दिएपछि प्रतिस्पर्धामा रहेका सुनकलाई नेतृत्वमा आउने अवसर जुटेको हो ।

ट्रसले राजनीतिक कारण देखाउँदै पदबाट राजीनामा दिएकी थिइन् । बेलायतको इतिहासमा कम समय प्रधानमन्त्री हुनेमा लिज ट्रस पर्छिन् । सुनक यस अघि तत्कालीन प्रधानमन्त्री बोरीस जोन्सनको पालामा अर्थ मन्त्री बनेका थिए । कोरोना कालमा सुनकले अर्थतन्त्रलाई सुधार गर्न योगदान पुर्‍याएको भन्दै उनको भूमिकाको प्रशंसा गर्ने गरिन्छ । उनी सन् २०१५ यता रिचमन्डको नर्थ योर्कशरको निर्वाचन क्षेत्रबाट सांसद बनेका थिए ।

 
 
  
 

You may also like