रुपन्देही २ मा नेमकिपाको निर्वाचन प्रचारप्रसार कार्यालय स्थापना

by समतल अनलाइन

बुटवल। आगामी मंसिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन र प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल मजदुर किसान पार्टीले रुपन्देही क्षेत्र नं.२ मा कार्यालय स्थापना गरेको छ । बुटवल १२ तामनगरमा स्थापना गरिएको सो कार्यालयबाट निर्वाचन लक्षित प्रचारप्रसार र परिचालन गरिने नेपाल मजदुर किसान पार्टी रुपन्देहीका अध्यक्ष एवम् रुपन्देही क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हरिसुन्दर वासीले बताएका छन् ।

सो अवसरमा बोल्दै नेपाल मजदुर किसान पार्टी रुपन्देहीका अध्यक्ष एवम् रुपन्देही क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हरिसुन्दर वासीले आम निर्वाचन पनि वर्गीय र राजनीतिक आन्दोलनको शिलशिला भएको बताए । मजदुर किसानको नेतृत्वमा देशभक्त प्रगतिशील बुद्धिजीवी तथा राष्ट्रिय पुँजीपति वर्ग सहभागी सरकार हुने तथा जनताको प्रजातन्त्रको लागि नेमकिपाले संघर्ष गरिहेको उल्लेख गर्दै वासीले देशको सार्वभौमसत्ता र स्वाधिनता जोगाउन मादल चिन्हमा मतदान गर्न आग्रह समेत गरेका छन् ।

देशघाती एमसीसी सम्झौता पारित गर्दा प्रधानमन्त्री देउवालाई उल्क्याएर प्रचण्ड र माधव नेपाललाई कथित व्याख्यात्मक टिप्पणीमा घुँडा टेकाउने ओली र एमाले पनि देशद्रोही नै रहेको चर्चा गर्दै अध्यक्ष वासीले संविधान र देश जोगाउन फिर्ता पठाएको नागरिकता विधेयकमाथिको छलफल तथा मतदानमा रुपन्देही क्षेत्र नं. २ का सांसद सहभागी नहुँदा स्वयम् एमालेभित्र पनि प्रश्न उठिरहेको उनले बताए ।

सडेगलेको दरबारलाई एक अर्को धक्का देऊ भन्ने रुसी क्रान्तिमा नारा गुन्जेजस्तै रुपन्देहीका सचेत मतदाताहरुले ‘बुटवलको प्रदेश राजधानीलाई लाभको पदसँग सौदाबाजी गर्ने, सुकुम्वासीलाई लालपुर्जा दिन नसके अर्को चुनावमा नआउने भन्दै भोट माग्न आउने विश्वासघाती सडेगलेको बालुवाटारे दरबारलाई एक अर्को मजबुत मुक्का दिम् भन्ने नारा लगाइरहेको उम्मेदवार बासीले बताए ।

अध्यक्ष वासीले शासक दलहरुप्रति जनताको असन्तुष्टि र आक्रोश अनि इमानदार नेमकिपाका जनप्रतिनिधिहरुप्रतिको विश्वास र भरोसाको आधारमा नेमकिपाका उम्मेदवारहरु जित्ने संभावना बढेको जिकिर गरेका छन् । नेमकिपा रुपन्देहीका सचिव एवम् रुपन्देही क्षेत्र नं. ५ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हिमलाल पाण्डेले निर्वाचनलाई वैचारिक लडाईंको रुपमा नै अगाडि बढाउनु पर्ने कुरामा जोड दिएका थिए । नेमाकिपा रुपन्देहीका सदस्य एवम् रुपन्देही क्षेत्र न. ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सरु विकले महिलाहरुको श्रमशक्ति बढाउन हरेक वडा र टोलहरुमा शिशु स्याहार केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।

 
 
  
 

You may also like