रुपन्देही क्षेत्र नम्बर १ : छविलाल र घनश्यामको विकल्प बन्न सक्लान त , बिसाल बास्कोेटा ?

by समतल अनलाइन

बुटवल ।
रुपन्देहीको क्षेत्र नम्बर १मा एमाले सचिव छविलाल विश्वकर्मा र एमालले पार्टी परित्याग गरि गठबन्धनको सहयोगमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुषाल चुनावी मैदानमा उत्रिएका छन् । एउटै पार्टीका सहयात्री अहिले एउटै क्षेत्रमा प्रतिस्प्रर्धा गर्न लागेका हुन् । तर देशैभरि पुराना र टेस्टेड अनुहारलाई हराउने र युवाले नेतृत्व गर्ने अभियान चलिरहेको समयमा रुपन्देहीको क्षेत्र नम्बर १मा लौरो चुनाव चिन्ह् लिएर फार्मेसिस्ट बिसाल बास्कोटा पनि प्रतिस्प्रर्धामा छन् ।पुराना अनुहारबाट देश परिवर्तन सम्भव नभएको भन्दै यि युवा पनि रुपन्देहीको क्षेत्र नम्बर १को परिवर्तन गर्न मैदानमा उत्रिएको बताउछन् ।

पुरानो होण्डा साईन बाईकमा एक, दुई जना सहयोगी सहित देवदह , ओमसतिया , रोहिणी र तिलोत्तमाका केही वडाहरुमा फैलिएको क्षेत्रमा बास्कोटा दिनरात जनताका समस्या बुुझ्दै र आफ्ना एजेण्डाहरु मतदाता माँझ राख्दै दिन विताई रहेका छन् । चुनावी माहोल सुरु नहुँदैबाट निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी बास्कोटाले भ्याए सम्मको स्वास्थ्य सेवा पुराएका छन् । कोभिडको समयमा कोरोनाको डरले सबै घर भित्र बन्दी भैरहेको समयमा बास्कोटा राहात वितरण र उद्धारमा खटिएका थिए । विगत ५वर्षदेखि देशैभरका विकट ठाउँमा निशुल्क स्वास्थ्य शिविर चलाएका हुन् । साथै , कोभिड महामारीको समयमा रुपन्देही क्षेत्र नम्बर २का स्वतन्त्र उम्मेदवार डा निकोलस भुसाल र बास्कोटाले कोभिडको लक्षण देखिएका रुपन्देहीका जनतालाई निशुल्क डोर टु डोर स्वास्थ्य सेवा समेत दिएका थिए ।

उमेरले २९ वर्ष पुगेका यी युवा क्षेत्र नम्बर १ देवदह १० चरङ्गेमा घर छ । चौतारी हेल्थ फाउन्डेसनमा कन्सल्टेन्ट फार्मिसिस्ट ,ग्रेस फार्मासियुटिकल्स , बायोगेन रेमेडिजमा क्वालिटी कन्ट्रोल अफिसरको रुपमा र लाइका फार्मासियुटिकल्समा क्वालिटी एसुरेन्स अफिसरको रुपमा काम गरेका बास्कोटाले क्रिमसन स्टुडेनाट फार्मासिस्ट एसोसिएसनको वरिष्ठ सल्लाहकार , युथ फर नेशन ( सहयत्रा राष्ट्रका लागि युवा)को लुम्बिनी प्रदेश अध्यक्ष हुन् ।

क्षेत्र नम्बर १मा बास्कोटाको प्रतिस्प्रर्धीमा राष्ट्रिय राजनीतिमा पकड भएका काम्युनिष्ट नेताहरु छविलाल विश्वकर्मा र घनश्याम भुषाल संग हुने छ । विश्वकर्माको राजनीतिक भूमि र भुसालको गृहनगर रहेकाले यो क्षेत्रलाई दुवै जनाले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।
२०७४ सालमा विश्वकर्माले नेपाली कांग्रेसका अब्दुल रज्जाकलाई पराजित गरेका थिए । माओवादी केन्द्रको सहयोगमा विश्वकर्मा ३४ हजार ७५२ मत ल्याएर निर्वाचित भएका थिए । रज्जाकले २६ हजार ८८५ मत पाएका थिए । २०७० सालको निर्वाचनमा भने अब्दुलले विश्वकर्मालाई नै हराएका थिए । अहिले उनै रज्जाकले भुसाललाई उम्मेदार बनाएर आफू प्रदेशसभामा झरेका छन् ।

सांगठनिक जनाधार बलियो रहेको, राप्रपा र जसपाको मत पनि राम्रो रहेको, तत्कालीन माओवादी नेता दधिराम न्यौपाने एमालेमै रहेर प्रदेशसभा उम्मेदार भएको, स्थानीय निर्वाचनमा एमालेले जितेको र निर्वाचनको मुखमा उम्मेदवारी नपाएर घनश्यामले पार्टी छोडेको तथा उनी कुनै पार्टीको उम्मेदवार नभएकाले निर्वाचन जित्न विश्वकर्मालाई कुनै समस्या नरहेको छविलाल पक्षको दाबी छ ।

तर, भुसाल पक्षले भने लामो समय उनले सो क्षेत्रमा काम गरेको, गृहनगर भएकाले धेरै पारिवारिक सम्बन्ध भएको, बौद्धिक नेता भएकाले तटस्थ मत तान्नसक्ने, ६ वटा दलले समर्थन गरेको र एमालेभित्र छविलालविरोधी ठूलो समूहले भुसाललाई साथ दिने आन्तरिक आश्वासन समेत दिएकाले सहजै जित्ने जिकिर गरेको छ । यो क्षेत्रमा दुई दर्जन उम्मेदवार रहेका छन् ।

गत स्थानिय तहको निर्वाचनमा पुराना नेताहरुको विकल्पमा युवाहरुले देशै भरि स्वतन्त्र उम्मेदवारको रुपमा लौरो चुनाव चिन्ह लिएर केही परिवर्तनको संकेत दिएका दिए । त्यसैको निरन्तरता अहिलेको निर्वाचनमा पनि उत्तिकै देखिन्छ ।

क्षेत्र नम्बर १मा पनि पुराना नेताहरुको विकल्प खोजी भैरहेको अवस्थामा लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र रुपमा उम्मेदवारी दिएका फार्मेसिस्ट बिसाल बास्कोटा पनि दरिलो बिकल्प हुने सक्ने देखिन्छ । उनका समर्थकहरुका अनुसार बास्कोटाले विगत लामो समय देखी समाजसेवामा आफूलाई समर्पित गरेको र पढे लेखेको युवा भएकोले पनि मतदाताले घनश्याम र छविलालको विकल्पमा बास्कोटालाई लौरोमा मतदान गरी विजय बनाउने बताए ।

 
 
  
 

You may also like