संविधानको रक्षा र देशको समृद्धिको नेतृत्व गठबन्धनले गर्ने : उपसभापति खड्का

by समतल अनलाइन

सुर्खेत । संविधानको रक्षा र देशको समृद्धिको नेतृत्व वाम लोकतान्त्रिक गठबन्धनले गर्ने नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बताएका छन ।

निर्वाचन केन्द्रित कार्यक्रमका लागि आज सुर्खेत आएका उनले सुर्खेत विमानस्थलमा पत्रकारसँगको कुराकानीमा अथक प्रयासपछि ल्याइएको नेपालको संविधान रक्षा र देशको समृद्धिका लागि अहिले बनेको वाम लोकतान्त्रिक गठबन्धनले मात्रै नेतृत्व गर्ने बताएका हुन् ।

उपसभापति खड्काले भने, ‘विगतमा दुई-दुई पटक संसद् विघटन गरेर संविधान र व्यवस्थालाई नै असर पार्ने प्रयासलाई परास्त गर्न अहिलेको गठबन्धन बनेकाले संविधान र व्यवस्थाको रक्षासँगै देशको समृद्धिका लागि गठबन्धनका साझा उम्मेदवारलाई जिताउन म आग्रह गर्दछु ।’

‘देशलाई सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाउने सङ्कल्प गठबन्धनको रहेको र आगामी निर्वाचनपछि बलियो र स्थिर सरकार बनाउन पनि हाम्रा साझा उम्मेदवारलाई जिताउनुहोस्’, उनले भने ।

सुर्खेत क्षेत्र नं १ को प्रतिनिधिसभाका लागि उम्मेदवार समेत रहेका उपसभापति खड्काले आगामी मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा संविधानको रक्षा र जनताका अधिकार स्थापित गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका दलले जिते मात्रै अहिलेको संविधान र व्यवस्थाको रक्षा हुने बताए ।

प्रदेश र केन्द्र सरकार वाम लोकतान्त्रिक गठबन्धन बनेपछि मात्रै कर्णालीको प्रचुर सम्भावनालाई अवसरमा बदल्न सकिने बताउँदै उनले सुर्खेतमा आफूहरुले सुरु गरेको विकास तथा निर्माणका काम पूरा गर्न र कृषि रोजगार, शिक्षा स्वास्थ्यमा सबै नागरिकको पहुँच पुर्‍याउने काम आफ्नो ध्यानकेन्द्रित हुने उनको भनाइ थियो ।

फरक प्रसङ्गमा उपसभापति खड्काले सुर्खेत विमानस्थल विस्तारका लागि केही प्राविधिक समस्या रहेको र यसबाट असर पर्ने नागरिकको समस्यालाई पनि बुझ्नुपर्ने बताए । उनले विमानस्थल विस्तारका लागि अन्य वैकल्पिक ठाउँको पनि खोजी भएकाले यस विषयलाई लिएर राजनीति नगर्न आग्रह गरे ।

 
 
  
 

You may also like