देवदहको सरनवारी देखि पाल्पा माथागढी सम्म पदमार्ग बन्ने

by समतल अनलाइन

देवदह । रुपन्देहीको अर्गानीक तरकारी उत्पादन क्षेत्रको रुपमा परिचित देवदह नगरपालिका ६, सरनवारीबाट पाल्पाको माथागढी सम्म पदमार्ग निर्माण हुने भएको छ। देवदहको सरनवारी देखि ऐतिहासिक माथागढी किल्ला रहेको स्थान सम्म सिढिमार्ग निर्माण गर्न संभाव्यता अध्ययन शुरु भएको छ।

देवदह नगरपालिका र मध्य पश्चिम पृतना बुटवलको संयुक्त अयाोजनामा पदमार्ग निर्माण गर्ने गरी संभाव्यता अध्ययन शुरु गरिएको हो। देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी पदमार्ग निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ। देवदह नगरपालिकाको आर्थिक र मध्य पश्चिम पृतना बुटवलको प्राविधिक सहयोगमा पदमार्ग निर्माण गरिने देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलले जानकारी दिनु भयो।

तत्कालिन देवदह गाविसले ०५१ सालदेखि नै सरनवारी देखि पाल्पाको माथागढी सम्म पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी योजना निर्माण गरेको भएपनि सिढिमार्ग निर्माण गर्न जनशक्ति नपाएका कारण रोकिएको खरेलले बताउनु भयो। लामो समय देखि रोकिएको पदमार्गको काम अव मध्यपश्चिम पृतना बुटवलको सहयोगमा तत्काल काम शुरु गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो। देवदह नगरपालिकाले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी योजना अगाडि सारेको बताउदै सरनवारी देखि माथागढी सम्म पदमार्ग निर्माण भएपछि आन्तरिक तथा वाह्य पर्यटनको आगमन बढ्ने उहाले बताउनु भयो।

सरनवारी देखि करिव ५६ किलोमिटर दुरी रहेको माथागढी मन्दिर जान आउनको लागि हाल राम्रो बाटो नभएको अवस्थामा सिढि निर्माण गरी पदमार्ग बनाउने हो भने, पर्यटकीय दृष्टिकोणले यो क्षेत्र महत्वपूर्ण हुने देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुगले जानकारी दिनु भयो।

पदमार्ग संभाव्यता अध्ययनको शुरुवात गर्दै मध्यपश्चिम पृतना बुटवलका उपरथी याम ढकालले पाल्पाको माथागढीमा रहेको गढी संरक्षण गर्न नेपाली सेनाको दायित्व भएकोले देवदह नगरपालिका संग सहकार्य गरेर पदमार्गको समेत विकास गर्न गरी काम अगाडि बढाईएको बताउनु भयो। उहाले जनता संग नेपाली सेना कार्यक्रम अन्तरगत नागरिक र समुदायलाई फाईदा पुग्ने गरी काम गर्ने बताउनु भयो । सोही अवसरमा गणदलका गणपति दिपेन्द्रप्रसाद न्यौपानेले नागरिकलाई फाईदा पुग्ने र ऐतिहासिक स्थलको संरक्षण, सम्बर्द्धन गर्ने कार्यमा नेपाली सेना निरन्तर लाग्ने बताउनु भयो। यसैगरी देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले स्थलगत अध्ययन पश्चात मात्र लगानीको सुनिश्चित गर्ने बताउनु भयो। उहाले दुरी र अनुमानित लागत अध्ययनको लागि स्थलगत अवलोकन गरिने र यसको लागि पाल्पाको माथागढी गाउपालिकालाई समेत आग्रह गर्ने बताउनु भयो।

संभाव्यता अध्ययन टोलीमा नगरपालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, सामुदायिक वन पदाधिकारी, समाजसेवी, स्थानीयवासी लगायतको सहभागिता रहेको थियो।

 
 
  
 

You may also like