आजदेखि पूर्वी नाकाबाट भारतीय गाडीलाई ‘सुविधा पास’

by समतल अनलाइन

झापा । मेची भन्सार कार्यालयले आज (सोमबार) देखि पूर्वीनाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको धुलाबारी बजारसम्म आवतजावत गर्न निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराउन थालेको छ ।

तीन वर्षदेखि भारतीय सवारी साधनलाई यो सुविधा दिइएको थिएन । भन्सार कार्यालयले आइतबार सूचना जारी गरेरै असोज १० गतेदेखि नाकाबाट प्रवेश गर्ने भारतीय जीप, कार र मोटरसाइकल आदिलाई ‘सुविधा पास’ दिइने जानकारी गराएको छ ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवप्रसाद ओलीले मेची उद्योग वाणिज्य सङ्घ र पर्यटन व्यवसायसँग आबद्ध सङ्घसंस्थाले सीमा नजिकको बजारसम्म भारतीय सवारीसाधनलाई सुविधा पासमा प्रवेश दिन माग गर्दै आएको बताए । मेची उद्योग वाणिज्य सङ्घले मेची भन्सार कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग दोहोर्‍याएको थियो । भन्सार कार्यालयले व्यवसायीसँग यस विषयमा छलफलसमेत गरेको थियो ।

मेची भन्सार कार्यालयको सूचनामा त्यस्तो सुविधा बिहान ८ देखि बेलुका ५ बजेसम्म चल्ने गरी भारतीय गाडीले पाउने उल्लेख छ । यो सुविधा पास पाउन भारतीय सवारीसाधनले कुनै शुल्क बुझाउनु पर्दैन । यसअघि भारतीय गाडीले २४ घण्टासम्म नेपालको सीमाभित्र सवारी सञ्चालन गर्न दैनिक रु पाँच सय तिरेर अस्थायी अनुमतिपत्र लिनुपथ्र्यो ।

 
 
  
 

You may also like