रोहिणी गाउँपालिकाका विभिन्न स्थानमा सीसीटिभी क्यामेरा जडान गरिने

by समतल अनलाइन

भैरहवा ।रुपन्देहीको रोहिणी गाउँपालिकाका विभिन्न स्थानमा सीसीटिभी क्यामेरा जडान हुने भएको छ । विभिन्न स्थानमा सीसीटिभी क्यामेरा जडान गर्न लागिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । उनले भने, ‘सीसीटिभी क्यामेरा जडान गरिएपछि दुर्घटनाका कारणबारे जानकारी लिन सहयोग पुग्छ, सुरक्षाका दृष्टिकोणले पनि यो महत्वपूर्ण छ । ’

गाउँपालिकाका प्रवक्ता तथा रोहिणी–३ का वडाअध्यक्ष बीर बहादुर क्षेत्रीले सीमा क्षेत्रसँग जोडिएको रोहिणी गाउँपालिकामा सुरक्षाको दृष्टिकोणले सीसीटिभी क्यामेरा आवश्यक भएको बताए । उनले भने,‘विगतमा पनि यस क्षेत्रमा घटनाहरु भएका छन्, गाउँ कार्यपालिकाबाट निर्णय तथा विभिन्न क्षेत्रको पहिचान गरी सुरक्षा निकायसँग समन्वय गरेका छौं । ’उनले सीसीटिभी क्यामेरा जडान गर्ने कार्यक्रम अगाडि बढाउन लागिएको जानकारी दिए ।

यसैबीच गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, उपाध्यक्ष शिवकान्ती हरिजन, प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोखरेल, प्रवक्ता बीर बहादुर क्षेत्री, वडा नम्बर २ का अध्यक्ष करम हुसेन खाँ, वडा नम्बर ५ का वडाअध्यक्ष घनश्याम सिंह क्षेत्री, वडा सचिव राजकुमार मिश्र, प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले बुधबार सीसीटिभी क्यामेरा जडान गर्ने क्षेत्रहरुको अनुगमन तथा अवलोकन गरेको छ ।

 
 
  
 

You may also like